मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

के प्रेममा छन् धीरज र उपासना ?

फिल्मीखबर, काठमाडौं, 2024/09/11

फिल्म रिलिज संघारमा हुँदा कलाकारको प्रेम चर्चा चल्नु नौलो होइन । तर, यो चर्चा दुई प्रकारको हुने गर्छ । एउटा नियोजित हुन्छ, जसको उद्देश्य भनेको प्रेमको हल्ला फैलाएर फिल्मको प्रचार गर्नु हो । अर्को चाहिँ वास्तविक प्रेम नै हुन्छ । तर, वास्तविक प्रेम भए पनि फिल्म रिलिज नहुँदासम्म मात्र त्यो टिकेको पाइन्छ । जब फिल्म रिलिज हुन्छ, तब बालुवाको घरजसरी सम्बन्ध पनि भत्किन्छ ।

यतिबेला अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको प्रेम चर्चा एककान दुईकान हुँदै फैलिरहेको छ । भलै उनीहरुले प्रेम सम्बन्ध स्वीकार गरेका छैनन्, तर उनीहरुलाई नजिकबाट चिन्नेहरु घनिष्ट प्रेम रहेको बताउँछन् । र, उनीहरुको क्रियाकलापले पनि त्यो दर्शाउँछ । अझ बढी उपासनाले प्रेमको छनक दिन्छिन् । धीरज बोलिरहँदा उनी एकतमासले प्रेमिल भावमा हेरिरहन्छिन् ।

खासमा फिल्म ‘खुस्मा’को छायांकनको बेला भएको एक घटनापछि धीरज र उपासना प्रेममा डुबेको बताइन्छ । फिल्मको छायांकन रुकुमस्थित मैकोटमा गरिएको हो । छायांकन भइरहेको समयमा उपासनाको खुट्टा ढुङ्गामा ठोकिएपछि उनी हिँड्नै नसक्ने भइन् । त्यसपछि मुलसधारे पानी परिरहेको बेला उनलाई धीरजले आफ्नो पिठ्यूँमा बोकेर मैकोटमा बस्दै आएको घरसम्म पुर्‍याएका थिए ।

 

dhiraj magar and upasana shing thakuri


खुट्टामा घाउ भएका कारण दुई दिन उपासना छायांकनमै जान सकेकी थिइनन् । त्यसबेला धीरजले नै उनको हेरचाह गरेका थिए । उनलाई खाना खुवाउने, घाउमा मलहम-पट्टी लगाउने काम धीरजले गरेका थिए । फिल्मका केही सदस्यका अनुसार त्यहीबेलादेखि उनीहरुको प्रेम अंकुराएको थियो । त्यो घटनापछि छायांकन अवधिभर नै उनीहरु एक-अर्कासँग निकै नजिक देखिएको बताइन्छ ।

अब ‘खुस्मा’ आगामी असोज ३ गते प्रदर्शनमा आउँदैछ । जसका लागि धीरज र उपासना यतिबेला प्रचारमा दौडधुप गरिरहेका छन् । र, मिडियासँगको अन्तर्वार्तामा उनीहरुको नचाहँदा नचाहँदै प्रेम देखिरहेको छ । एक-अर्काको तारिफमा मात्र शब्द खर्चिरहेका हुन्छन् । मंगलबार काठमाडौंमा गरिएको फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम पनि उनीहरुको प्रेम बोल्ने अर्को एउटा आधार हो ।

मंगलबार धीरजको जन्मदिन समेत परेको थियो । उनको जन्मदिनलाई विशेष बनाउन ‘खुस्मा’को ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । जहाँ धीरज परिवारलाई सम्झिने क्रममा भावुक भएपछि उपासनाले थमथमाइन् । र, ‘मेरो एकदमै प्यारो मान्छे’ भन्दै उनले धीरजलाई जन्मदिनको शुभकामना पनि दिएकी थिइन् । कार्यक्रम सकिएपछि उनीहरु एकअर्काको हात समात्दै बाहिरिएका थिए ।

धीरज र उपासनाको प्रेम चर्चा ‘खुस्मा’का लागि मात्र भइरहेको हो वा वास्तवमै प्रेम सम्बन्धमा छन्, त्यो उनीहरुलाई नै थाहा होला । तर, उनीहरुको प्रेम चर्चाले फिल्मको प्रचारमा केही हदसम्म फाइदा पुगिरहेको छ । दर्शकहरुले फिल्मको गीत, टिजर, ट्रेलरदेखि उनीहरुको अन्तर्वार्तामा जोडी मन पराएका छन् । अब फिल्म पनि सफल भइदिए धीरज र उपासनाको जोडी चम्किने निश्चित छ ।