तीजको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’को दुई दिनको इनिसियल व्यापार सुखद् नै रह्यो । दुवै दिन विदा परेकाले पनि व्यापारमा फाइदा पुगेको थियो । तर, आइतबारबाट फिल्मको व्यापार अपेक्षित हुन सकेको छैन । सामाजिक सञ्जालमा आइरहेका नकारात्मक टीका-टिप्पणीले फिल्मलाई असर गरेको देखिन्छ । यद्यपि, फिल्मको टिम व्यापारमा सुधार हुँदै जानेमा आशावादी छ ।
यतिबेला फिल्मकी शीर्ष अभिनेत्री एवं निर्मात्री पूजा शर्मा र अभिनेता पल शाह दर्शकसँग भेट गर्न काठमाडौंबाहिर छन् । मंगलबार पश्चिम नेपालको नेपालगञ्जका केही हलमा पुग्दा उनीहरुलाई भेट्न दर्शकको ठूलो भीड उर्लिएको थियो । उनीहरुको उपस्थितिकै कारण मंगलबार नेपालगञ्जमा फिल्मको व्यापार राम्रो रह्यो । त्यस दिनमा मात्र नेपालगञ्जमा ५ लाखमाथि व्यापार भएको बताइन्छ ।
बुधबार भने पल र पूजा दाङ पुगेका थिए । यो पलको गृहजिल्ला समेत भएकाले त्यहाँका हलहरुमा उनको क्रेज लोभलाग्दो देखियो । पल र पूजालाई दूबो र फूलको माला, खादा लगाएर प्रशंसकहरुले भव्य स्वागत गरेका थिए । बुधबार दाङमा अवस्थित मनकासी सिनेमा हल, गणेश चित्रालय र भिएफएक्स सिनेमाजले उपलब्ध गराएका अधिकांश शोजमा लगभग शतप्रतिशत अकुपेन्सी थियो ।
बिहीबार भने पल र पूजा धनगडी पुगेका छन् । यसपछि उनीहरु नेपालगञ्ज हुँदै सम्भवतः बिहीबार नै काठमाडौं फर्किनेछन् । तीन सहरको भ्रमणमा फिल्मप्रति दर्शकको राम्रो आकर्षण देखिएको पूजा बताउँछिन् । उनी भन्छिन्, ‘फिल्मलाई दर्शकले जसरी साथ दिनुभएको छ, त्यसले अझ राम्रो फिल्म बनाउन हौसला मिलेको छ । आगामी दिनमा पनि दर्शकको यस्तै साथ मिल्नेमा ढुक्क छु ।’
पल भने फिल्मलाई लिएर भइरहेको नकारात्मक टीका-टिप्पणीमा कुनै सत्यता नभएको दाबी गर्छन् । फिल्मै नहेर्नेले यस्तो टिप्पणी गरिरहेको उनको भनाई छ । उनी भन्छन्, ‘फिल्मको बारेमा केही कमेन्टहरु आइरहेका छन् । तर, त्यो कमेन्ट कसरी आइरहेको छ भने जसले फिल्म नै हेरेका छैनन् । हेर्नेहरुले एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ । फिल्मको ‘माउथ पब्लिसिटी’ बलियो छ ।’