गत वर्ष आएको फिल्म ‘डिग्री माइला’पछि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा अब दोस्रोपटक फिल्म ‘दुःखी आत्मा’मा एकसाथ देखिँदैछ । बिहीबारबाट उनीहरुले फिल्मको छायांकन सुरु गरेका छन् । एक महिनाको सेड्युलमा फिल्मलाई काठमाडौं आसपासका क्षेत्रमा छायांकन गरिनेछ । दीपेन्द्र लामाको निर्देशनमा फिल्म बन्न लागेको हो । यसमा उनी स्वयंको लेखन रहेको छ ।
‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाको निर्माण रहने फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, कविता आले, बुद्धि तामाङ, पुस्कर गुरुङ, आशान्त शर्मा, शिशिर वाङ्देल, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार लगायतको पनि अभिनय रहनेछ । फिल्मलाई यही वर्ष सार्वजनिक प्रदर्शनको तयारी गरिएको छ ।
मानिस बाहिरी रुपमा हँसिलो देखिए पनि भित्रभित्रै कति दुःखी हुन्छन् भन्ने कुरालाई प्रतिकात्मक रुपमा पर्दामा देखाउन खोजिएको निर्देशक लामाले बताएका छन् । फिल्म हास्यप्रधान रहने उनको भनाई छ । आलोक शुक्लाको छायांकन रहेको फिल्मको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् भने रामजी लामीछानेको कोरियोग्राफी रहनेछ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।