‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा फिल्म ‘एक्टर : टेक वान’बाट ५ वर्षपछि अभिनयमा फर्किएकी छन् । पछिल्लो पटक सन् २०१९ मा आएको ‘द म्यान फ्रम काठमाडौं’मा देखिएकी उनले यसपछि केही फिल्म सम्झौता गरेको भए पनि ती निर्माण नै भएनन् । अब उनको आशा र भरोसा ‘एक्टर’माथि छ । यसमा उनले अहिलेका ‘स्टार’ अभिनेता प्रदीप खड्काको जोडी भएर काम गरेकी छन् ।
बिहीबार निर्माताले उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन् । जसमा उनी आकर्षक लुक्समा देखिएकी छन् । कलर गरेको कपाल, गलामा हार र वान पिसमा उनको सुन्दरता खुलेको छ । आनाको पहिरन र चालढाल हेर्दा फिल्मभित्र पनि उनको भूमिका हिरोइनकै हुनसक्ने संकेत मिल्छ । यद्यपि, उनको भूमिकाबारे खुलाइएको छैन । फिल्ममा आनाको चरित्रको नाम भने प्रकृति हो ।
राजन भुसालको निर्देशनमा तयार भएको यो फिल्मबाट अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले डेब्यु गरेकी छन् भने अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि कमब्याक गरेका छन् । दिव्य देव, दिव्या रायमाझी, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे आदिको पनि अभिनय रहेको फिल्ममा थमनकुमार भण्डारी निर्माता र अनिस भुसाल सह-निर्मातामा छन् ।
आकाश बराल र निर्देशक भुसाल स्वयंको लेखन रहेको ‘एक्टर’लाई नरेन्द्र मैनालीले खिचेका हुन् । शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको फिल्ममा अष्टम महर्जनको द्वन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन तथा हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत छ । यो फिल्म तिहार विदाको अवसर पारेर आगामी कात्तिक १५ गते अर्थात् लक्ष्मीपूजाबाट प्रदर्शनमा आउँदैछ ।