मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिताम्बर’बाट अलग भइन् आँचल, दिव्याको प्रवेश ?

फिल्मीखबर, काठमाडौं, 2024/09/12

aanchal sharma and divya rayamajhi

 

एउटै समयमा तीन फिल्म ‘दुःखी आत्मा’, ‘जेरी अन टप’ र ‘पिताम्बर’ छायांकनमा निस्किने भएपछि अभिनेत्री आँचल शर्मा तनावमा थिइन् । उनलाई यी तीन फिल्ममध्ये कम्तिमा एउटा छाड्नै पर्ने अवस्था देखिन्थ्यो । अन्ततः उनले ‘पिताम्बर’बाट हात झिकेकी छन् । उनी स्वयंले फिल्मीखबरसँगको कुराकानीमा समय नमिलेका कारण आफू सहमतिमै फिल्मबाट अलग भएको जानकारी दिइन् ।

‘पिताम्बर’बाट आँचल बाहिरिएपछि अब उनको ठाउँमा अभिनेत्री दिव्या रायमाझीको आगमन भएको विश्वस्त स्रोतले जनाएको छ । फिल्मको छायांकनका लागि उनी नवलपरासी पुगिसकेकी छन् । दिव्यासँग शुक्रबार कागजी सम्झौताको तयारी गरिएको जानकारी प्राप्त छ । निर्देशक कृषा चौलागाइँले पनि दिव्या नवलपरासी आएको पुष्टि गरिन् । तर उनी निश्चित नभइसकेको कृषा बताउँछिन् ।

बुझिए अनुसार ‘पिताम्बर’मा दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । यो उनीहरुको दोस्रो सहकार्य हुनेछ । प्रदीपकै जोडी भएर दिव्याले फिल्म ‘एक्टर’मा काम गरिसकेकी छन्, जुन आगामी कात्तिक १५ (लक्ष्मीपूजा) गतेबाट प्रदर्शन हुँदैछ । उनले यही फिल्मबाट डेब्यु गरेकी हुन् । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । दिव्याको पाइपलाइनमा ‘बरिष्ठ बलराम’ पनि छ ।

‘पिताम्बर’मा दिव्यालाई भित्राउन प्रदीपको ठूलो भूमिका रहेको स्रोत बताउँछ । ‘एक्टर’मा काम गरेपछि एकअर्कासँग निकै नजिक भएका उनीहरुको सम्बन्धलाई लिएर फिल्म क्षेत्रमा गाइँगुइँ हल्ला पनि चलिरहेको छ । ‘पिताम्बर’मा दिव्याको प्रवेशपछि बजारको चर्चामा अझ मलजल मिलेको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, आर्यन सिग्देल लगायतको पनि अभिनय छ ।