मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थलापति विजयको अन्तिम फिल्म घोषणा, पारिश्रमिक २७५ करोड !

एजेन्सी, काठमाडौं, 2024/09/14

It's official! Thalapathy 69 to be directed by H Vinoth | Times Now

 

साउथ सुपरस्टार थलापति विजयको करिअरको अन्तिम दोस्रो फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ यतिबेला प्रदर्शनरत छ । फिल्मले ९ दिनमा विश्वभर ३५० करोडमाथिको कमाई गरिसकेको छ । तमिल भर्सनको कमाई मात्र १५६ करोड छ । यो फिल्मले सफलता पाएसँगै विजय अब अन्तिम फिल्ममा काम गर्दैछन्, जसको शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ ।

‘थलापति ६९’ शीर्षक राखिएको फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज गर्ने घोषणा गरिएको छ । तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक लामो करिअरलाई विट मार्नेछ । र, यसमा काम गर्न उनले २७५ करोड भारु पारिश्रमिक बुझेको जनाइएको छ । यो तहको पारिश्रमिक बुझ्ने उनी नै पहिलो भारतीय अभिनेता हुन् ।

‘थलापति ६९’को निर्देशन एच. विनोथले गर्नेछन् । उनले यसअघि ‘थुनिभु’, ‘भलिमई’, ‘नरकोन्डा पारवाई’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । विजयसँग उनको यो पहिलो सहकार्य हुनेछ । फिल्मका लागि अभिनेत्रीको भने टुंगो लागिसकेको छैन । यद्यपि, पूजा हेगडेको नाम चर्चामा छ । र, भिलेनमा बबी देओल हुनसक्ने जनाइएको छ । फिल्म एक्सन प्रधान हुने पोस्टरले छनक दिन्छ ।

यो फिल्म रिलिजपछि विजयले अभिनयबाट संन्यास लिएर पूर्णकालीन राजनीति सुरु गर्दैछन् । उनले ६ महिना अगाडि आफू प्रमुख रहने गरी राजनीतिक दलको घोषणा गरेका थिए । तमिझागा वेत्री कझगम (तमिलनाडु विजय पार्टी) नाम राखिएको विजयको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सन् २०२६ को ‘विधान सभा’मा उनको पार्टीले चुनाव लड्ने घोषणा गरिएको छ ।

विजय तमिलनाडु क्षेत्रमा अभिनेता रजनीकान्तपछिको प्रभावशाली अभिनेता मानिन्छन् । त्यस क्षेत्रमा उनको कुन हदसम्म प्रभाव छ भने सन् २०२१ मा उनको नाममा प्रशंसकहरुले खोलेको पार्टीले तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो । अब विजय आफैं राजनीतिमा होमिएकाले उनको पार्टीले २०२६ को ‘विधान सभा’ चुनावमा ठूलो सिट जित्ने प्रक्षेपण गरिएको छ ।