मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’को ‘कसम बत्तीको’ गीत : दर्शकबाट प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2024/09/15

Jitu Nepal, Niti Shah

 

दशैं-तिहारमा फिल्म रिलिजको ठूलो चाप भएकाले यतिबेला गीत, टिजर र ट्रेलर रिलिजको बाढी देखिएको छ । हरेक दिन कुनै न कुनै फिल्मको प्रचार सामाग्री सार्वजनिक भइरहेका छन् । आगामी असोज २४ गते अर्थात् फूलपातीबाट प्रदर्शन हुन लागेको फिल्म ‘ज्वाइँ साब’को पनि चार दिनअघि पहिलो गीतको रुपमा ‘कसम बत्तीको’ सार्वजनिक गरिएको थियो, जुन दर्शकले रुचाएका छन् ।

युट्युब रिलिजको चार दिनमै गीतलाई १० लाख बढी भ्यूज मिलेको छ भने प्रतिक्रिया पनि राम्रो प्राप्त छ । ८ सय हाराहारी कमेन्टमा प्रायःले गीत सुमधुर बनेको भन्दै प्रशंसा गरेका छन् । निशान भट्टराई र समीक्षा अधिकारीको गायकी तथा फिल्मकी अभिनेत्री नीति शाहको सुन्दरताको प्रशंसामा शब्द खर्चिएका प्रतिक्रिया पनि धेरै देखिन्छन् । र, यो गीतमा थुप्रै टिकटक र रिल्स बनिसकेका छन् ।

छोटो समयमै गीतले राम्रो हाइप बनाएकोमा निर्देशक बसन्त निरौलाले खुसी व्यक्त गरे । ‘कसम बत्तीको’ गीतका कारण विदेशबाट फिल्मको माग समेत बढेको उनको भनाई छ । उनी भन्छन्, ‘पोस्टर र टिजरले फिल्मको एकखालको हाइप बनाएको थियो । गीत आएपछि हाइप थप बढेको छ । अहिले विदेशबाट समेत फिल्मको माग बढेको छ । यसले हामीलाई निकै उत्साहित बनाएको छ ।’

फिल्मको कथा रोचक र नौलो भएकाले यसपटक दशैंलाई उत्साहपूर्ण बनाउने निर्देशक निरौलाको विश्वास छ । फिल्मले दर्शकलाई फरक अनुभव गराउने उनी बताउँछन् । यसमा नीतिको जोडी अभिनेता जितु नेपालसँग बाँधिएको छ । उनीहरुको जोडीकै कारण पनि फिल्मप्रति दर्शकमा चासो देखिन्छ । ‘ज्वाइँ साब’ले विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने अनौठो विषयलाई उठाएको छ ।