मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिस नेपाल प्रतियोगिता : नेपाली फिल्मलाई हिरोइन उत्पादन गर्ने कारखाना

फिल्मीखबर, काठमाडों, 2024/09/16

नेपालमा च्याउसरी उम्रिएका सौन्दर्य प्रतियोगिताहरूमध्ये ‘मिस नेपाल’ सबैभन्दा पुरानो र प्रतिष्ठित मानिन्छ । यसको आयोजना हुन थालेको करिब तीन दशक भइसकेको छ । मिस नेपाल आयोजनाको उद्देश्य व्यक्तित्व, नेतृत्व विकास र महिला सशक्तिकरण भन्ने गरिन्छ । तर, सुरुवाती समयदेखि नै यो सौन्दर्य प्रतियोगिता नेपाली फिल्मका लागि हिरोइन उत्पादन गर्ने कारखाना बनिरहेको छ ।

मिस नेपाल भएपछि चर्चा अलि बढी हुन्छ । र, यसैले खुलाउँछ हिरोइन बन्ने बाटो । पहिलो मिस नेपालदेखि हिरोइन बन्ने श्रृंखलाको सुरुवात भएको थियो । तर, अहिलेसम्म कुनै मिस नेपाल पृष्ठभूमिका हिरोइनहरूले फिल्ममा राम्रो करिअर बनाउन सकेका छैनन् । प्रायःले हिरोइन बन्नु नै ठूलो सफलता मानिरहेका छन् । न मेकरहरूले उनीहरूलाई सशक्त रुपमा प्रस्तुत गर्न सकेको देखिन्छ ।

पहिलो मिस नेपाल रुबी राणाले ‘भुतुक्कै भएँ नि’बाट डेब्यु गरेपछि लगभग आधा दर्जन फिल्ममा काम गरिन् । तर, फिल्ममा उनले आफ्नो बलियो पकड बनाउन सकिनन् । करिब ६ वर्षदेखि त उनी फिल्ममै देखिएकी छैनन् । रुबीपछि सन् १९९५ मा मिस नेपाल बनेकी सुमी खड्का पनि हिरोइन बनिन् । ‘एक नजर’, ‘सुपरस्टार’ जस्ता फिल्म गरेकी उनले अभिनय करिअर छाडिसकेकी छन् ।

 

miss nepal

 

त्यसपछि सन् १९९७ मा मिस नेपालको ताज जितेकी झरना बज्रचार्य पनि हिरोइन बनिन् । कुनै समय नेपाली फिल्ममा उनको ठूलो चर्चा थियो । ‘हतियार’, ‘फेरि अर्को साइनो’, ‘भाइटीका’, ‘अञ्जुली’, ‘मन मन्दिर’, ‘सञ्जीवनी’ लगायतका फिल्ममा काम गरेकी उनले बिहेपछि अभिनय करिअर छाडिन् । अहिले झरना नेपालमा बस्दिनन् । उनको पछिल्लो रिलिज फिल्म ‘कोही मेरो’ (२०१०) थियो ।

सन् २००२ की मिस नेपाल माल्भिका सुब्बाले पनि फिल्म ‘गुडबाई काठमाण्डू’बाट हिरोइन बन्ने सपना पूरा गरिन् । तर, दुर्भाग्य ! यो फिल्म रिलिज भएन । न त यसपछि उनले अरु फिल्ममा काम गरिन् । यद्यपि, म्यूजिक भिडियोमा उनी बेला बखतमा झुल्किरहेकी हुन्छिन् । उनले ‘हाउ फन्नी’ नामक फिल्म समेत बनाएकी छन् । तर, यो फिल्म नचलेपछि उनी निर्माणमा सक्रिय देखिएकी छैनन् ।

सन् २००९ मा मिस नेपाल बनेकी जेनिशा मोक्तान पनि हिरोइन हुन् । फिल्म ‘मेरो एउटा साथी छ’बाट उनलाई ‘ब्रेक’ मिलेको थियो । तर, यसपछि उनले फिल्म गरेकी छैनन् । सन् २०११ की मिस नेपाल मलिना जोशी र सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठले पनि आधा दर्जन फिल्म गरिसकेका छन् । तर, दुवैको करिअर सन्तोषजनक देखिँदैन । तथापि, सृष्टिले लगातार फिल्म पाइरहेकी छन् ।

नेपाली फिल्मले पाएको अर्को मिस नेपाल निकिता चण्डक हुन् । सन् २०१७ मा मिस नेपाल बनेपछि उनले पहिलो फिल्मको रुपमा ‘रानी महल’ सम्झौता गरेकी थिइन् । तर, यो फिल्म आधा छायांकन नहुँदै रोकियो । यसपछि ‘साङ्लो’बाट डेब्यु गरेकी निकिताको दोस्रो फिल्म ‘राजागञ्ज’ प्रदर्शनको तयारीमा छ । हाल प्रदर्शनरत ‘रावायण’को एक गीतमा उनले आइटम डान्स समेत गरेकी छन् ।

अब सन् २०२० की मिस नेपाल नम्रता श्रेष्ठ पनि हिरोइन बन्दैछिन् । उनले अभिनेता सलोन बस्नेतको नयाँ फिल्म ‘रंगी’बाट डेब्यु गर्न लागेकी हुन् । सन् २००० की मिस नेपाल उषा खड्गी पनि फिल्म ‘नरसिंहा अवतार’बाट डेब्युको तयारीमा छिन् । यसरी हेर्दा मिस नेपाल प्रतियोगिताले मात्र नेपाली फिल्मलाई १० जना हिरोइन दिइसकेको छ । तर, प्रायःलाई फिल्ममा टिक्नै धौधौ परेको देखिन्छ ।