मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘खुस्मा’का लागि उपासनाले रोजेकी थिइन् धीरज

फिल्मीखबर, काठमाडौं, 2024/09/16

संविधान दिवसको विदा पारेर असोज ३ गतेबाट फिल्म ‘खुस्मा’ प्रदर्शनमा आउने तयारीमा रहेको छ । यसमा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलो पटक सहकार्य गरेका छन् । तर, फिल्ममा धीरजभन्दा अगाडि उपासना निश्चित भएकी थिइन् । स्क्रिप्टको फाइनल ड्राफ्टपछि धीरजलाई अफर पुगेको थियो । र, फिल्मका लागि उपासनाले नै धीरजलाई रोजेकी थिइन् ।

पत्रकारसँगको एक भेटमा उपासना सम्झन्छिन्, ‘स्क्रिप्ट सुनिसकेपछि निर्देशकले तिम्रो अपोजिटमा कसलाई लिँदा ठीक हुन्छ जस्तो लागेको छ भनेर सोध्दा मैले धीरज नै हुनुपर्छ भनेको थिएँ । निर्देशकले पनि मैले त्यही सोचेको छु भन्नुभएको थियो । ‘खुस्मा’ मगर समुदायको कथामा बनेकाले केही चीजहरु मिल्नैपर्ने हुन्थ्यो । उमेरदेखि हरेक कुरा धीरजसँग मिल्ने भएकाले उसको याद आयो ।’ 

 

upasana shing thakuri


‘खुस्मा’को स्क्रिप्ट पढेपछि निर्देशकसहित उपासना छायांकन हुने ठाउँ (रुकुमको मैकोट) पुगेकी थिइन् । त्यहाँको बसाईले उनलाई चरित्र निर्माणमा ठूलो सहयोग पुग्यो । उनी भन्छिन्, ‘फिल्मको कथा २०/२५ वर्ष अगाडिको भएकाले कति कुरा त्यही ठाउँमा गएर सिक्नुपर्छ भनेर हामी मैकोट गएका थियौं । मैले त्यहाँका केही मानिसहरुसँग समय विताएर बोल्ने शैली र हाउभाउ अध्ययन गरेँ ।’

उपासनाका अनुसार, मैकोट जानुअघि स्क्रिप्टको पहिलो ड्राफ्ट मात्र तयार थियो । त्यहाँका बासिन्दाको अनुभव सुनेपछि निर्देशकले फाइनल ड्राफ्ट तयार गरेको उनी बताउँछिन् । फिल्ममा वास्तविक कथाहरु पनि धेरै समेटिएको उनको भनाई छ । उनी फिल्मको कथालाई ‘यूनिभर्सल’ मान्छिन् । विश्वको जुनसुकै देशका मानिसले पनि ‘खुस्मा’को कथामा ‘रिलेट’ गर्न सक्छन् भन्ने उनलाई लाग्छ ।

‘राजनीति, प्रेम, युद्ध, त्याग भन्ने कुरा सबैले नभोगेको भए पनि त्यो महसुस गर्न सकिने कुरा हो । ‘खुस्मा’मा यो कुरा समेटिएको छ,’ उपासना अगाडि भन्छिन्, ‘द्वन्द्वकालमा आफ्नो नजिकको मान्छे हराउँदा र गुमाउँदा पनि धेरैले जीवन काटिरहनुभएको छ । यस्ता कथा कति आएकै छैन । यो फिल्म गर्नुअघि मलाई पनि थाहा थिएन । त्यही भएर पनि सबैले ‘खुस्मा’ अनिवार्य हेर्नुपर्छ भन्ने लाग्छ ।’

फिल्ममा खुस्मा क्यारेक्टर नै उपासनाले निभाएकी छन् । अर्थात् उनकै चरित्रबाट कथा भनिएको छ । यसको मतलब फिल्मै उनले बोकेकी छन् । तर, यो हिसाबले उनले भार महसुस गरेकी छैनन् । बरु महिलाको दृष्टिकोणबाट कथा भनिएको फिल्ममा काम गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन् । ‘खुस्मा’ले आफूलाई जीवनको बारेमा फरक दृष्टिकोण दिएको उनको अनुभव छ ।