मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रावायण’को असर : ‘कल्ली’बाट हटाइए पल

फिल्मीखबर, काठमाडौं, 2024/09/17

फिल्म ‘रावायण’ व्यावसायिक रुपमा सफल भइदिए भए अभिनेता पल शाहको करिअर नै कायापलट हुन सक्थ्यो । उनलाई अपेक्षा पनि यही थियो । तर, फिल्मको नतिजा निकै निराशाजनक आएको छ । फिल्म बक्स अफिसमा पिटिएन मात्र, उनको अभिनयदेखि गेटअपसम्मको व्यापक आलोचना भयो । पल मुछिएको एक प्रकरणको असर फिल्मलाई परेको टीका-टिप्पणी पनि भइरहेको छ ।

‘रावायण’को असफलतापछि उनलाई लिएर फिल्म बनाउन खोजेका मेकरहरु हच्किएका छन् । एउटा फिल्मबाट त उनलाई अलग नै गराइएको छ । गत साउन १५ गते फिल्म ‘कल्ली’को दुईवटा पोस्टर सार्वजनिक गर्दै पलको प्रमुख भूमिका रहने जनाइएको थियो । तर, अब यो फिल्ममा उनी नरहने भएका छन् । उनको ठाउँमा निर्माण पक्षले अभिनेता सौगात मल्ललाई निश्चित गरिसकेको छ ।

 

paul shah


सोमबार ‘कल्ली’का प्रस्तुतकर्ता किरण नेपालीले फिल्मीखबरसँगको कुराकानीमा फिल्ममा पल रहने वा नरहने विषयमा स्पष्ट बोल्न सकेका थिएनन् । उनले फिल्ममा चारजना अभिनेता रहने र त्यसमध्ये एउटामा सौगातलाई लिएको जनाएका थिए । तर, यथार्थमा पललाई हटाएर निर्माण पक्षले उनको ठाउँमा सौगातलाई लिएको हो । ‘रावायण’ रिलिज भएपछि निर्माताले यो निर्णय लिएका हुन् ।

‘कल्ली’बाट पल हटाइनुमा तीनवटा कारण प्रमुख मानिएको छ । एउटा, ‘रावायण’को कमजोर व्यापार । दोस्रो, पलको अभिनयको आलोचना । तेस्रो, पल मुछिएको घटनालाई लिएर सामाजिक सञ्जालमा भएको टीका-टिप्पणी, जसले ‘रावायण’को व्यापारमा समेत असर गर्‍यो । यसले ‘कल्ली’लाई पनि ठूलो असर गर्न सक्ने निर्माताको आँकलनपछि पलको ठाउँमा सौगातलाई लिएको बताइन्छ ।

पलका कारण ‘कल्ली’मा केही कलाकारले काम गर्न नमानेको समेत स्रोत बताउँछ । निर्माताले अरु भूमिकाका लागि केही स्थापित कलाकारहरूलाई प्रस्ताव गरेका थिए । तर, उनीहरूले काम गर्न अस्वीकार गरे । फिल्मबाट पललाई अलग गराइनुमा यो कारण पनि महत्त्वपूर्ण मानिएको छ । लक्ष्मण सुनुवारको निर्देशन रहने ‘कल्ली’मा अभिनेत्री बेनिशा हमालको पनि मुख्य भूमिका रहनेछ ।