मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘खुस्मा’ प्रिमियर : उपासनाको अभिनयको प्रशंसा (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/09/18

‘रुकुम मैकोट’ गीतका कारण चर्चामा रहेको फिल्म ‘खुस्मा’ संविधान दिवसको दिन पारेर भोलि बिहीबारदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको थियो । मगर समुदायको नृत्य र बाजागाजाले रोमाञ्चक बनेको प्रिमियरमा फिल्मका शीर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी मगर पहिरनमा उपस्थित थिए ।

 

Dhiraj Magar And Upasana Singh Thakuri (1)


द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित रहेको फिल्मले प्रिमियरमा राम्रो तारिफ पाएको छ । नेतादेखि सेलिब्रेटीहरुको उल्लेख्य उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर प्रशंसा गरेका थिए । विशेषगरी उपासनाको ज्यादा तारिफ सुनियो । उनले आफूलाई अभिनयमा अब्बल रुपमा प्रस्तुत गरेको धेरैको प्रतिक्रिया थियो ।

निर्देशक निश्चल बस्नेतले उपासनाको प्रशंसा गर्दै फिल्मले निराश नबनाउने दाबी गरे । ‘निर्देशकले भन्न खोज्नुभएको कुरा मज्जाले नै देखाउनुभएको छ । उपासनाको काम राम्रो छ । उपासनाबाट निर्देशकले जसरी काम निकाल्नुभएको छ, त्यो मन पर्‍यो । धीरजको काम पनि राम्रो छ । र, रुकुमको मैकोटलाई जसरी देखाइएको छ, त्यो एकदमै राम्रो छ । फिल्मले निराश बनाउँदैन,’ उनले भने ।

 

Dhiraj Magar And Upasana Singh Thakuri (4)


उनले निर्देशकलाई फिल्ममा धेरै सिनहरु भएकाले त्यसलाई छोट्याएर कसिलो बनाउन पनि सुझाव दिए । उनले भने, ‘निर्देशकको हिसाबले फिल्म हेर्दै गर्दा अझ यस्तो भइदिए हुन्थ्यो भन्ने चीज पनि छ । फिल्ममा धेरै सिन छन्, त्यसलाई अलि कसिलो बनाउने हो भने अझ पावरफुल हुनसक्छ । नयाँ थप्नुपर्ने चीजहरु होइन कि अलि कसिलो बनाउँदा अझ ‘इफेक्टिभ’ हुन्छ जस्तो मलाई लाग्छ ।’

सांसद ज्ञानेन्द्र शाहीले भने ‘खुस्मा’लाई दस्तावेजको संज्ञा दिए । ‘यो फिल्म मात्र नभएर दस्तावेज हो । यो फिल्म हेरिएन भने २०५२ भन्दा अगाडिको नेपाल बुझ्नुहुन्न,’ उनले भने, ‘एउटा सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट के कुराले असर पर्‍यो र जीवनमा कति अप्ठ्यारो पर्‍यो भन्ने कुरा फिल्मले देखाएको छ । ‘खुस्मा’ हेर्दा योपछि यो सिन आउँछ भनेर कल्पना गर्न सकिन्न ।’

 

Dhiraj Magar And Upasana Singh Thakuri (4)


अभिनेत्री पशुपति राईले फिल्म राम्रो बनेको भन्दै प्रशंसा गरिन् । ‘खुस्मा’ले द्वन्द्वकालको समयलाई सम्झाउने उनको धारणा थियो । ‘फिल्मले द्वन्द्वकालीन समयलाई सम्झाउँछ । अनि मीठो प्रेमकथा छ । मलाई धेरैपछि कसैको केमेस्ट्री मन परेको हो भने त्यो धीरज र उपासनाको हो,’ उनले भनिन् । अर्की अभिनेत्री गौमाया गुरुङले पनि धीरज र उपासनाको ‘केमेस्ट्री’ एकदमै मन परेको बताइन् ।

निर्देशक रेनशा वान्तवा राईको भने आँशुले आँखा भिजेको देखिन्थ्यो । उनलाई फिल्मले भावुक बनाएको रहेछ । उनले फिल्म राम्रो बनेको भन्दै उपासना र धीरज दुवैको कामको प्रशंसा गरिन् । अभिनेता द्वय सलिनमान बनियाँ र आशीर्वाद क्षेत्रीले पनि फिल्म मन परेको बताउँदै धीरज र उपासनाको अभिनयको प्रशंसा गरेका थिए । फिल्मको कथामा सबैले ‘रिलेट’ गर्ने उनीहरूको विश्वास छ ।

 

Dhiraj Magar And Upasana Singh Thakuri (3)


प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिएका धीरज ‘खुस्मा’लाई आम नेपालीको कथा भन्न रुचाउँछन् । उनी भन्छन्, ‘यो सबै नेपालीले भोगेको र देखेको कथा हो । उपासनाले निभाएको चरित्र धेरै महिलाको कथा हो । हामीले छायांकन रुकुममा गर्‍यौं तर यो कथा आम नेपालीको हो ।’ उपासनाले पनि धीरजको कुरामा सहमति जनाइन् । दुवै मगर पहिरनमा आकर्षक देखिएका थिए ।