मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

१२ वर्षपछि जुर्‍यो उत्तम र निरुताको सहकार्य

फिल्मीखबर, काठमाडौं, 2024/09/18

Niruta Singh and Uttam Pradhan

 

कुनै बेला नेपाली फिल्मको सफल जोडी हुन्, उत्तम प्रधान र निरुता सिंह । ‘दर्पण छायाँ’ उनीहरूको कालजयी फिल्ममध्ये मानिन्छ । यसपछि ‘लहना’, ‘अजम्बरी माया’, ‘सन्तान’ जस्ता फिल्ममा काम गरेका उनीहरू १२ वर्षदेखि एकसाथ फिल्ममा देखिएका छैनन् । त्यसो त दुवैले फिल्म नखेलेकै लामो समय भैसकेको छ । उत्तम भारतको सिक्किममा र निरुता मुम्बईमा बस्दै आइरहेका छन् ।

अब उत्तम र निरुताको जोडीलाई फेरि दर्शकले वर्षौंपछि एकसाथ हेर्न पाउने भएका छन् । तर, फिल्ममा नभइ म्यूजिक भिडियोमा । उनीहरू एक म्यूजिक भिडियोमा काम गर्नका लागि मंगलबार काठमाडौं आइपुगेका छन् । ‘यो जुनी यस्तै भो’ बोलको गीतको भिडियोमा उनीहरूले सहकार्य गर्न लागेका हुन् । यस गीतमा बबी सुब्बा लिम्बूको शब्द रचना र हरि लम्सालको संगीत रहेको छ ।

केशव भावुकले गायन रहेको गीतको छायांकन भने बिहीबार र शुक्रबार पर्यटकीय क्षेत्र चित्लाङमा गरिने निर्देशक मिराज अर्यालले जानकारी दिए । ‘दर्शकले रूचाउनुभएको जोडीको वर्षौंपछिको सहकार्यमा जोडिन पाउँदा एकदमै उत्साहित छु । गीतलाई उत्कृष्ट बनाउनेछौं,’ उनले भने । म्यूजिक भिडियोमै भएपनि निरुता र उत्तमको जोडीलाई वर्षौंदेखि एकसाथ हेर्न दर्शकलाई रोचक हुनेछ ।

गत वर्ष वैवाहिक जीवनमा बाँधिएकी निरुता पछिल्लो पटक फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् । यसपछि उनले फिल्म गरेकी छैनन् । उत्तमको भने पछिल्लो रिलिज फिल्म ‘इशारा’ हो, जुन २०१२ मा प्रदर्शन भएको थियो । उनले केही वर्षअघि आफ्नो निर्देशनमा ‘दर्पण छायाँ’कै ‘कास्ट’ लिएर फिल्म ‘दर्पण छायाँपछि’ बनाउने तयारी गरेका थिए । तर, यो फिल्म नै बन्न सकेको छैन ।