मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खुस्मा’को सुखद् सुरुवात, हलमा दर्शकमाझ घेरिए धीरज र उपासना (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/09/19

एकातिर संविधान दिवसको विदा र अर्कोतिर ‘रुकुम मैकोट’ गीतको चर्चाले फिल्म ‘खुस्मा’को ‘ओपनिङ’ राम्रो हुन सक्ने प्रदर्शनपूर्व आँकलन गरिएको थियो । त्यो केही हदसम्म पहिलो दिन देखिएको छ । बिहानी शोज अपेक्षित नभए पनि दिउँसोबाट फिल्मले गति समात्यो । दिउँसो काठमाडौंसहित मोफसलका केही सहरहरूमा फिल्मले करिब ५० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भयो ।

 

Khusma


काठमाडौं अन्तर्गत क्यूएफएक्सको लबिम, सिभिल, बिग मुभिज, एफक्युब जस्ता हलहरूमा दिउँसो दर्शकको चाप राम्रो देखियो । केही शोज हाउसफुल पनि भए । साँझ ६ बजेपछिका शोजमा पनि दर्शकको उपस्थिति उत्साहप्रद देखिएको छ । पोखरा, बुटवल, नेपालगञ्ज, धरान, विर्तामोड जस्ता सहरहरूमा पनि फिल्म हेर्ने दर्शकको चाप दिउँसोदेखि साँझसम्म सुखद् रहेको जनाइएको छ ।

फिल्मप्रति दर्शकको आकर्षणलाई मध्यनजर गर्दै थुप्रै मल्टीप्लेक्सहरूले शुक्रबारका लागि शोज समेत वृद्धि गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएकाले आगामी दिनमा फिल्म हेर्ने दर्शक अझ बढ्ने वितरक गोविन्द शाहीले बताए । उनले भने- ‘पहिलो दिनमा नै देशभर फिल्म हाउसफुल छ । यो भनेको फिल्मका लागि एकदमै शुभ संकेत हो । मलाई लाग्छ यो फिल्म लामो समय जानेछ ।’

 

Khusma


बिहीबार दिउँसोदेखि फिल्मका अभिनेता धीरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, निर्देशक अशोक थापा मगरसहितको टिमले काठमाडौंका केही हलमा पुगेर दर्शकसँग भेट गरेका थिए । चाबहिलको एफक्युब हलमा पुग्दा धीरज र उपासनासँग तस्वीर खिच्न दर्शकहरूबीच तछाडमछाड चलेको थियो । त्यहाँ उनीहरूले दर्शकसँग फिल्मको ‘रुकुम मैकोट’ गीतमा नाचेर रमाइलो पनि गरे ।

पहिलो दिनमै दर्शकको उत्साहजनक साथ पाउँदाको खुसी धीरज र उपासनाको अनुहारमा प्रष्ट देखिएको थियो । ‘काठमाडौंसहित सबैतिर पहिलो दिन नै यसरी फिल्म हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ धीरजले भने । दर्शकहरूले आफ्नो कामलाई पनि निकै रुचाएकोमा उनले खुसी व्यक्त गरे ।

 

Khusma


उपासनाले पनि सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलेको बताइन् । ‘हामीले सोचेकै थिएनौं कि यति राम्रो प्रतिक्रिया मिल्छ होला भनेर । कतिजनाले त मलाई भेटेरै धेरै रुवाउनुभयो भनेर भन्नुभएको थियो,’ उनी खुसी हुँदै भन्छिन्, ‘जसरी हामीले कथा भन्ने प्रयास गरेका थियौं, त्यसलाई दर्शकले रुचाइदिँदा धेरै खुसी लागेको छ । कतिले सिक्वेल चाहिन्छ समेत भन्नुभएको छ । यही हाम्रो सफलता हो ।’

मगर समुदायको परिवेशमा निर्माण भएको फिल्मले सशस्त्र द्वन्द्वको प्रभावबीच अंकुराएको एक जोडीको प्रेमकथालाई देखाएको छ । यसमा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ आदिको पनि अभिनय छ ।