मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चल भन्छन्, ‘पहिला बिहेको जस्तै अहिले सन्तानको दबाब आउँछ’

फिल्मीखबर, काठमाडौं, 2024/09/20

निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएको ९ वर्ष भइसकेको छ । विवाह गर्ने बेला स्वस्तिमा २० वर्षमा भर्खर टेकेकी थिइन् । निश्चल भने पहिलो फिल्म ‘लुट’ बनाउँदाखेरि नै ३० वर्ष लागिसकेका थिए । यसैले निश्चललाई परिवार र आफन्तबाट बिहेको दबाब अलि ज्यादा थियो । जब विवाह भयो, त्यसपछि उनीहरुलाई अर्को दबाब सुरु भएको छ, सन्तानको ।

बिहीबार निश्चल र स्वस्तिमा दम्पतीको निर्माण तथा अभिनयमा बनेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर रिलिज कार्यक्रम विवाह र सन्तानकै विषयमा केन्द्रित रह्यो । यो प्रश्न अझ बढी निश्चलले सामना गरे । उनले पहिला विवाहको जस्तै केही वर्षयता सन्तानको विषयमा दबाब आउने गरेको बताए । यसैले आजकाल आफू पारिवारिक भेटघाटमा भन्दा घरमै बढी बस्ने गरेको उनी बताउँछन् ।

‘पहिला विवाहको दबाब धेरै आउँथ्यो । अहिले सन्तानको दबाब आइरहेको हुन्छ । परिवार र आफन्त भेट्दा यो कुरा आउने गर्छ । त्यही भएर म घरमै धेरै बस्छु,’ निश्चलले हाँस्दै भने । ‘लुट’ बनाउने ताका परिवार र आफन्तबाट विवाहको धेरै दबाब आएको पनि उनले स्मरण गरे । तर, त्यसबेला आफू फिल्म बनाउन एकोहोरो रुपमा लागेकाले अरु कुरामा धेरै ध्यान नदिएको उनी बताउँछन् ।

 

Swastima Khadka, Nischal Basnet


‘विवाहको दबाब परिवार र आफन्तबाट धेरै आएको थियो । तर, त्यसबेला म यो कुरालाई लिएर गम्भीर थिइनँ । किनकि, म फिल्म बनाउने कुरामा एकोहोरो भएर लागेको थिएँ । मलाई अरु कुरामा त्यस्तो रुचि थिएन,’ उनी भन्छन्, ‘पहिलो फिल्म ‘लुट’ बनाउँदा म ३० वर्षको भइसकेको थिएँ । त्यसबेला जता गए पनि बिहेको कुरा गर्थे । एउटा समयपछि त आफन्तकोमा जानै बन्द गरेको थिएँ ।’

परिवारबाट पनि असाध्धै दबाब बढेपछि निश्चल विवाहको बारेमा सोच्न बाध्य भएका रहेछन् । ‘एकातिर मलाई बिहेको कुराले दिक्क लागिसकेको थियो भने अर्कोतिर घरबाट पनि विवाह गर्नुपर्छ भनेपछि सोच्न बाध्य भइदो रैछ । त्यसपछि कोही राम्रो पायो भने गरम् न त भन्ने सोचमा पुगेँ । त्यही बेला मेरी भदैनी (सांसद विनिता कठायत)ले स्वस्तिमासँग कुरा अगाडि बढाइन्,’ निश्चलले स्मरण गरे ।

उनले ‘दिमाग खराब’ रिलिज लगत्तै ‘बेहुली फ्रम मेघौली’को निर्माण सुरु गरेका थिए । सुरुमा फिल्मका निर्देशकद्वय सजन काफ्ले र आकाश बरालले स्वस्तिमालाई अभिनयका लागि मात्र प्रस्ताव गरेका थिए । स्वस्तिमालाई स्क्रिप्ट मन परेपछि उनकै आग्रहमा निश्चल निर्माताको रुपमा जोडिए । जब स्क्रिप्ट पूर्ण रुपमा तयार भयो, त्यसपछि उनी आफैंले एउटा रोलमा काम गर्ने रुचि देखाएका थिए ।

निश्चल सम्झन्छन्, ‘म पहिला निर्माताको रूपमा मात्र थिएँ । रोल के हुन्छ भन्ने थाहै थिएन । कसलाई लिने भन्ने कुरा भइरहँदा एउटा विन्दूमा यो रोल मैले गर्दा ठीक होला भनेर निर्देशकहरुलाई भनेको थिएँ । उनीहरुले पनि नाइँ भनेनन् ।’ उनी आफूलाई स्क्रिप्ट मन नपरेसम्म फिल्म नबनाउने समेत बताउँछन् । निश्चलको प्रष्ट विचार छ, ‘जुन चीज म आफैंले हेर्न सक्दिनँ भने त्यो बनाएर के गर्नु ?’