मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो रह्यो ‘खुस्मा’को तीन दिन ?

फिल्मीखबर, काठमाडौं, 2024/09/22

प्रदर्शनअघि ‘रुकुम मैकोट’ गीतका कारण फिल्म ‘खुस्मा’ चर्चामा थियो । टिकटक, इन्स्टाग्रामको रिल्स, युट्युब शर्टस् जताततै गीत चम्किँदा फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्न सक्ने आँकलन गरिएको थियो । त्यसमाथि प्रदर्शनको पहिलो दिन (बिहीबार) नै संविधान दिवसको सार्वजनिक विदा थियो । अन्ततः विदा र गीतको चुलिँदो चर्चाले फिल्मलाई सन्तोषजनक ‘ओपनिङ’ दिलायो ।

पहिलो दिन ‘खुस्मा’ले काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, धरान, इटहरी, चितवन जस्ता सहरहरूमा प्राप्त शोजमा ५० प्रतिशत अकुपेन्सी नघाएको थियो । फिल्म हेर्न पुग्ने प्रायः दर्शकलाई ‘रुकुम मैकोट’ गीतले नै आकर्षित गरेको थियो । दोस्रो दिन (शुक्रबार) भने व्यापार अपेक्षाकृत हुन सकेन । तथापि, साँझपख काठमाडौं, धरान, पोखरासहितका केही हलहरूमा सुखद् अकुपेन्सी थियो ।

 

Khusma Nepali Film


शनिबारको विदामा भने फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखियो । काठमाडौंसहित मोफसलका ठूला स्टेशनहरूमा दिउँसो धेरै शोज हाउसफुल भए भने कतिमा ६० प्रतिशतसम्म अकुपेन्सी रह्यो । साँझका शोजमा पनि दर्शकहरूको चाप राम्रो थियो । समग्रमा फिल्मको तीन दिनको प्रदर्शनलाई सुखद् मान्न सकिन्छ । अब आज आइतबारबाट हुने व्यापारले फिल्मको भविष्य निर्धारण गर्नेछ ।

फिल्म प्रदर्शनपछि अभिनेता धीरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, निर्देशक तथा लेखक अशोक थापा मगरसहितको टिमले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरूसँग भेट गरिरहेको छ । शनिबार सिभिल, सिटी स्क्वायर लगायतका हलमा पुग्दा धीरज र उपासनासँग तस्वीर खिच्न दर्शकहरू झुम्मिएका थिए । र, हलभित्रै उनीहरूले ‘रुकुम मैकोट’ गीतमा नृत्य गर्दै रमाइलो पनि गरे ।

‘खुस्मा’को व्यापारिक रिपोर्ट भने निर्माताले सार्वजनिक गरिसकेका छैनन् । आइतबार साँझसम्म तीन दिनको रिपोर्ट सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । मगर समुदायको परिवेशमा आधारित भएर बनेको फिल्मले माओवादी-सशस्त्र द्वन्द्वको प्रभावबीच अंकुराएको एक जोडीको प्रेमकथालाई प्रस्तुत गरेको छ । फिल्ममा धीरज र उपासनाको केमेस्ट्रीलाई दर्शकहरूले रुचाएका छन् ।