मिति : २०८१ आश्विन ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

ग्लोबल ट्रेन्डिङमा पर्‍यो ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीत

फिल्मीखबर, काठमाडौं, 2024/09/22

खुस्मा'को 'रुकुम मैकोट'लाई अर्गानिक गीत भन्दै प्रशंसा

 

कम्मरैमा पटुकी कसेर,
मुसुमुसु हाँसेकी बसेर,
रुकुम मैकोट,
आँखा नि राम्रै हो, मन पर्‍यो नि ओठ !


माथि उल्लेखित यो अंश बिहीबारदेखि प्रदर्शनरत फिल्म ‘खुस्मा’मा समावेश ‘रुकुम मैकोट’ गीतको हो । एक महिनाअघि युट्युबमा सार्वजनिक भएको यो गीत लगभग २ सातादेखि नेपालको म्यूजिक सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बरबाट डगमगाएको छैन । यसमा सयौं टिकटक, रिल्स र शर्टस् बनिसकेका छन् । गीतको लोकप्रियताको फाइदा ‘खुस्मा’को व्यापारमा पनि पुगिरहेको छ ।

यसैबीच, ‘रुकुम मैकोट’ गीतलाई अर्को सफलता मिलेको छ । यो गीत ‘ग्लोबल ट्रेन्डिङ’मा आएको छ । युट्युबको म्यूजिक ग्लोबल चार्टमा यो गीत ७३औं स्थानमा छ । ‘ग्लोबल ट्रेन्डिङ’मा पर्ने यो पहिलो नेपाली फिल्मको गीत हो । अघिल्लो हप्ता ‘कश्मीरे पछ्यौरी’ गीत पनि युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्न सफल भएको थियो । ग्लोबल ट्रेन्डिङमा गीत पर्नु भनेको विश्वभर सर्वाधिक रुचाइनु हो ।

 

khusma


‘रुकुम मैकोट’ गीतमा युट्युब रिलिजको एक सातासम्म न्यून भ्यूज थियो । जब टिकटक जस्ता प्लेटफर्ममा गीत रुचाइयो, त्यसपछि एक महिना पनि नपुग्दा गीतले युट्युबमा एक करोड भ्यूज नघायो । यो समाचार तयार पार्दासम्म गीतलाई १ करोड ३६ लाखभन्दा बढीले युट्युबमा हेरिसकेका छन् । गीतको चर्चा अझै चुलिँदो छ । यसले कम्तीमा तीन करोड भ्यूज नघाउने आँकलन गरिएको छ ।

अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले नृत्य गरेको यस गीतमा एसडी योगीको संगीत छ भने सुरेन्द्र रानाको शब्द तथा एसडी योगी र शान्तिश्री परियारको संगीत छ । यो गीत अडियोका कारण चलेको हो । मीठासपूर्ण शब्द र कर्णप्रिय गायन तथा संगीतका कारण दर्शकले गीत रुचाएका हुन् । यस वर्ष ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’पछि सर्वाधिक चलेको फिल्मी गीत यही हो ।

‘रुकुम मैकोट’ गीतकै कारण प्रदर्शनअघिदेखि नै चर्चामा रहेको ‘खुस्मा’ले इनिसियल व्यापार राम्रो गरेको छ । खासगरी बिहीबार र शनिबारको विदामा फिल्मप्रति दर्शकको आकर्षण उत्साहजनक देखिएको थियो । निर्माताको दाबी अनुसार तीन दिनमा फिल्मले २ करोड ५५ लाखको ग्रस व्यापार गरेको छ । यो फिल्मले सशस्त्र द्वन्द्वको प्रभावका बीच अंकुराएको प्रेमकथालाई प्रस्तुत गरेको छ ।