मिति : २०८१ आश्विन ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

निरुता भन्छिन्, ‘फिल्मलाई एकदमै मिस गर्छु’

फिल्मीखबर, काठमाडौं, 2024/09/23

कुनै बेलाकी सर्वाधिक सफल अभिनेत्री निरुता सिंहले लामो समयपछि केमियो भूमिकामै भए पनि ‘नाइँ नभन्नू ल ५’बाट अभिनयमा कमब्याक गरेकी थिइन् । यसपछि फिल्म ‘दाल भात तरकारी’मा मुख्य भूमिका निभाइन् । तर, यो फिल्मपछि निरुता फेरि निस्क्रिय देखिएकी छन् । फिल्मबाट अफर पुगिरहेको भए पनि उनले काम गरेकी छैनन् । उनी फिल्ममा नदेखिएको ५ वर्ष भइसकेको छ ।

लामो समयदेखि परिवारसहित भारतको मुम्बईमा बस्दै आएकी उनी नेपाल भने बाक्लै आउजाउ गरिरहेकी हुन्छिन् । गत मंगलबार उनी एक म्यूजिक भिडियोमा काम गर्न नेपाल आएकी थिइन् । गीतको छायांकन सकिएपछि निरुताले आइतबार फिल्म ‘खुस्मा’को विशेष शोमा पनि उपस्थिति जनाइन्, जहाँ उनले फिल्मको खुलेर प्रशंसा गरिन् । उनी यसलाई अर्गानिक फिल्मको संज्ञा दिन्छिन् ।

 

niruta shing


‘यो द्वन्द्वको कथामा बनेको छ । फिल्ममा एउटा परिवारको कथालाई देखाइएको छ, तर यो धेरै घरमा घटेको कथा छ । यसलाई म अर्गानिक फिल्म भन्न चाहन्छु,’ उनले भनिन् । उनले फिल्मकी अभिनेत्री उपासना सिंह ठकुरीको पनि प्रशंसा गरिन् । ‘उपासनामा निरुता सिंहलाई पाउन सकिन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘मभन्दा माथि पाउनुहुन्छ । उसको काम एकदमै राम्रो छ ।’

स्क्रिनमा फर्किने अधैर्य रहेकी निरुता आफूले नेपाली फिल्मलाई धेरै नै सम्झिने गरेको बताउँछिन् । ‘कलाकारका लागि फिल्म कति विशेष हुन्छ होला ? म फिल्मलाई एकदमै ‘मिस’ गर्छु । हरेक कलाकारको इच्छा मर्नुभन्दा अघिसम्म पनि आफूलाई ‘स्क्रिन’मा देख्न पाउँ भन्ने हुन्छ । यसैले त सानो केही भयो भने पनि म नेपाल आइहाल्छु । म चाँडै आफूलाई ‘स्क्रिन’मा हेर्न चाहन्छु,’ उनी भन्छिन् ।

अघिल्लो वर्ष निरुताले मुम्बईमै विवाह गरेकी थिइन् । उमेरले ४० वर्ष कटेपछि घरजम बसाएकी उनी आफ्नो वैवाहिक जीवन खुसी रहेको बताउँछिन् । ‘मेरो वैवाहिक जीवन खुसहाल छ । मैले जस्तो जीवनसाथी चाहन्थेँ त्यस्तै पाएको छु । ‘ढिला आयो कडा आयो’ भनेजस्तै भएको छ,’ उनले हाँस्दै भनिन् । अभिनेता उत्तम प्रधानसँग एक म्यूजिक भिडियोमा काम गर्न निरुता नेपाल आएकी हुन् ।