मिति : २०८१ आश्विन ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्जुन कुमारको दाबी- ‘मैले बनाएको फिल्ममध्ये ‘सानो संसार’ उत्कृष्ट’

फिल्मीखबर, काठमाडौं, 2024/09/24

सन् २००८ मा ‘सानो संसार’ शीर्षकमा फिल्म बनेको थियो । यसलाई लभस्टोरीमा एउटा जीवन्त फिल्म मानिन्छ । यही नाम सापटी लिएर एकपटक फेरि फिल्म बनेको छ तर फरक विषयमा । यही शुक्रबार (असोज ११ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्मले मध्यमवर्गीय परिवारको कथालाई उठाएको छ । ‘चपली हाइट’ श्रृंखलाका निर्माता अर्जुन कुमारले यो फिल्मको निर्माण गरेका हुन् ।

‘सानो संसार’ पहिला सिरिज थियो । चार भाग प्रशारण समेत भइसकेको थियो । यो सिरिज हेरेपछि यसमा फिल्म बनाउनुपर्छ भनेर अर्जुनले बाँकी एपिसोड रोक्न लगाए । उनी यो फिल्मप्रति सन्तुष्ट देखिन्छन् । उनी यसलाई आफूले यसअघि बनाएका फिल्ममध्येकै उत्कृष्ट मान्छन् । ‘मैले यसअघि जति पनि फिल्म बनाएँ, त्यसमध्ये उत्कृष्टमा ‘सानो संसार’ पर्छ,’ अर्जुनले सोमबार पत्रकारसँग भने ।

उनले यसअघि आफ्ना कुनै फिल्मको प्रिमियर गरेका थिएनन् । ‘सानो संसार’को भने प्रिमियर राखिएको छ । यसले पनि फिल्मप्रति निर्माता कुमारको विश्वास देखाउँछ । उनी भन्छन्, ‘यसअघि मैले कुनै फिल्मको प्रिमियर गरेको थिइनँ । पहिलो पटक यसको गर्दैछु । फिल्म राम्रो छ भनेपछि नै मलाई प्रिमियरको आँट आएको हो । सेन्सरका सदस्यहरु समेत फिल्म हेर्दा भावुक हुनुभएको थियो ।’

 

arjun kumar


उनलाई ‘सानो संसार’ जस्ता फिल्म दशकौंका एउटा बन्छ भन्ने लाग्छ । ‘मेकर भएपछि फरक-फरक जनरामा फिल्म बनाउनुपर्छ । यो फिल्म मैले किन बनाएँ भने यसमा मैले आफ्नै कथा देखेँ,’ उनी भन्छन्, ‘यस्ता खालको कथामा दशकौंपछि एउटा फिल्म बन्छ, जसले धार परिवर्तन गर्छ । ‘सानो संसार’ त्यस्तो फिल्म हो । र, यो फिल्म जसले हेर्छ, उसले आफूलाई पाउँछ । यो मेरो दाबी हो ।’

‘सानो संसार’की प्रमुख कलाकार सीतादेवी तिमल्सिनालाई पनि फिल्म हेर्दा दर्शकले आफ्नै कथा पाउँछन् भन्ने लाग्छ । मध्यमवर्गीय परिवारको कथामा फिल्म बनेको र नेपालमा यो वर्ग ठूलो संख्यामा रहेकाले कुनै न कुनै पार्टले छुने उनको दाबी छ । मध्यमवर्गीय परिवारको कस्ता आवश्यकता हुन्छन् र त्यो पूरा गर्ने क्रममा कस्ता समस्या आउँछन् भन्ने कुरा फिल्मले देखाउने उनको भनाई छ ।

फिल्ममा सीतादेवीकी छोरीको भूमिकामा अभिनय गरेकी नव-अभिनेत्री अञ्जसा रिजाल यसमा हरेक घरमा मिल्ने कथा रहेको दाबी गर्छिन् । उनी आफ्नो चरित्रबारे भन्छिन्, ‘मेरो चरित्रले धेरै उद्देश्य बोकेको छ । उसको विदेश जाने सपना छ । अहिलेको समयमा बाहिर जाने थुप्रै युवाको सपना हुन्छ । त्यसको प्रतिनिधित्व फिल्ममा मेरो पात्रले गरेको छ । फिल्मको कथा एकदमै ‘रिलेडेड’ छ ।’

अर्की अभिनेत्री अनु दाहाललाई आफ्नो चरित्रमा युवापुस्ताले ‘रिलेट’ गर्ने विश्वास छ । ‘फिल्ममा म परिवारको जेठी छोरी हुँ । यसमा छोरा पनि छ तर ऊ हराएको हुन्छ । त्यसपछि मेरो ‘क्यारेक्टर’ले परिवारको जिम्मेवारी उठाएपछि बुबा-आमा र सन्तानबीच भिन्नता आउँछ,’ उनी भन्छिन्, ‘फिल्ममा काम गर्दा यो कुरा म आफैंले पनि ‘रिलेट’ गरेको हुँ । मजस्तो धेरै युथले यसमा ‘रिलेट’ गर्नुहुनेछ ।’

सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा तयार भएको यो फिल्ममा राज पंगेनी शर्मा, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको पनि अभिनय छ । फिल्ममा माधव वाग्ले कार्यकारी निर्मातामा छन् । सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन रहेको फिल्ममा प्रवीन खड्काको छायांकन एवं रोमी तन्डुकारको सम्पादन छ । फिल्मको ट्रेलरलाई युट्युबमा दर्शकले रुचाइरहेका छन् ।