मिति : २०८१ आश्विन ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’ : बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने मौका

फिल्मीखबर, काठमाडौं, 2024/09/25

Swastima Khadka

 

दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले दर्शकलाई आकर्षित गर्न प्रचारमा विभिन्न शैली अपनाइरहेका छन् । केही दिनअघि फिल्मको लोकप्रिय गीत ‘छड्के सलाम’मा कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एउटालाई फिल्ममा समावेश गर्ने घोषणा गरिएको थियो । अब अर्को प्रतियोगिताको पनि घोषणा गरिएको छ ।

फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । फिल्मकी शीर्ष अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराइन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ ।

‘छड्के सलाम’ गीतका कारण चर्चामा रहेको फिल्मको अघिल्लो साता सार्वजनिक ट्रेलरले युट्युबमा अब्बल प्रतिक्रिया पाइरहेको छ । फिल्मको चुलिँदो चर्चा हेर्दा बक्स अफिसमा सुखद् व्यापार गर्न सक्ने सम्भावना देखिन्छ । फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।

यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मले विवाहको कथा भन्छ ।