मिति : २०८१ आश्विन ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपालमा कोही ‘स्टार’ छैन : अर्जुन कुमार

फिल्मीखबर, काठमाडौं, 2024/09/25

निर्माता अर्जुन कुमार अक्सर ‘स्टार’ कहलिएका कलाकारलाई लिएर फिल्म बनाउँछन् । ‘द युगदेखि युगसम्म’, ‘फिटकिरी’, ‘चपली हाइट ३’ र ‘फाटेको जुत्ता’ यसका उदाहरण हुन् । तर, उनी ‘स्टार’प्रति नै भडास पोखिरहेका हुन्छन् । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको आफ्नो नयाँ फिल्म ‘सानो संसार’को प्रचारमा व्यस्त रहेका उनी नेपालमा कुनै कलाकार ‘स्टार’ नरहेको बताउँछन् ।

सोमबार पत्रकारसँगको भेटघाटमा उनले भने, ‘म नेपालको कुनै कलाकारलाई ‘स्टार’ मान्दिनँ । नेपालको कुनै कलाकारलाई राखेर फिल्म चलाउँछु वा पैसा कमाउन सकिन्छ भनेर कसैले ग्यारेन्टी दिन सक्दैन । यो भनेको मान्छेलाई गुमराहमा राख्ने काम मात्र हो । नेपालमा कोही ‘स्टार’ छैन ।’ पोस्टरमा कुनै कलाकारको तस्वीर राखेर फिल्म चलाउने जमाना पनि गइसकेको अर्जुनको दाबी छ ।

 

arjun kumar


अहिलेको समयमा फिल्म चल्नका लागि ‘कन्टेन्ट’ नै बलियो हुनुपर्ने उनको तर्क छ । ‘फिल्म राम्रो बनेको छ र कलाकारहरूले राम्रो काम गरेको छ भने त्यो फिल्म एक वा दुई दिन नचल्ला तर तेस्रो दिनबाट चलेका धेरै उदाहरण छन्,’ उनले भने । अर्जुन आफूलाई कलाकार झेल्न सक्ने निर्माताको रुपमा अर्थ्याउँछन् । पहिलाका फिल्महरूमा धेरै कलाकारलाई आफूले झेलेको उनले स्मरण गरे ।

निर्माता कुमारलाई नेपाली फिल्म क्षेत्रमा ‘नातावाद’ र ‘कृपावाद’ पनि धेरै नै छ भन्ने लाग्छ । ‘फिल्म क्षेत्रमा बेला बखतमा नातावाद र कृपावादको कुरा आइरहन्छ । खासमा बाहिरको भन्दा नेपाली फिल्म क्षेत्रमा बढी नै छ । किनकि, यो सानो क्षेत्र हो । आफ्नै मान्छे राखेर फिल्म बनाउँ भन्ने भावना हुन्छ । तर, मेरो आफ्नो मान्छे कोही पनि छैन, फिल्ममा डेब्यु गराउन वा खेलाइरहन,’ उनले भने ।

अर्जुन कुमार नियमित फिल्म बनाउने निर्माता हुन् । उनले निर्माण गरेको ‘चपली हाइट’ नेपाली फिल्मको परम्परागत कथ्य संरचना भत्काएको फिल्म थियो । उनले यसका तीनवटा श्रृंखला निर्माण गरिसकेका छन् । कोभिडका कारण ‘चपली हाइट ३’ भने नराम्ररी पिटियो । अब अर्जुनलाई ‘सानो संसार’प्रति ठूलो आशा छ । यसलाई उनले आफ्ना अघिल्ला फिल्महरुमध्येकै उत्कृष्ट भनेका छन् ।