मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो संसार’ प्रिमियर : ‘अर्गानिक र नेचुरल फिल्म’

फिल्मीखबर, काठमाडौं, 2024/09/26

मध्यम वर्गीय परिवारको कथामा बनेको फिल्म ‘सानो संसार’ यही शुक्रबार (असोज ११ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको थियो, जहाँ उपस्थित अतिथिहरुले फिल्मको कथावस्तुदेखि कलाकारहरुको अभिनयको खुलेर प्रशंसा गरे । फिल्मले हँसाउने र रुवाउने दुवै गराएको प्रायःको प्रतिक्रिया थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसी पोस्टर मात्र हेर्दा फिल्म हेर्न खासै उत्साहित भएका रहेनछन् । तर, फिल्म हेरेपछि उनी ‘सरप्राइज’ भए । उनले प्रिमियरमा सञ्चारकर्मीसँग भने, ‘फिल्म एकदमै राम्रो छ । पोस्टर हेर्दा चाहिँ फिल्म हेर्न म उत्साहित थिइनँ । तर, जब फिल्म हेरेँ, तब मेरो ध्यान तान्यो । पाँचजना अब्बल कलाकार नेपाली फिल्म क्षेत्रले पाएको छ ।’

अभिनेता जितु नेपालले ‘सानो संसार’ सोचेकोभन्दा राम्रो बनेको बताए । नयाँ कलाकारलाई लिएर राम्रो फिल्म बनाएकोमा उनले निर्देशकलाई ‘सलुट’ नै गरे । ‘वास्तवमा अर्गानिक फिल्म चाहिँ यो हो । पछिल्लो समय यति अर्गानिक र नेचुरल फिल्म बनेको छैन,’ उनले भने, ‘मलाई यो फिल्मले ‘लुट’ले जसरी ट्रेन्ड परिवर्तन गर्न सक्छ जस्तो लाग्छ । यसलाई म वास्तविक नेपाली फिल्म मान्छु ।’

 

sano sansar


निर्देशक ज्ञानेन्द्र देउजाले ‘सानो संसार’लाई सान्दर्भिक, सार्थक र यथार्थपरक फिल्मको संज्ञा दिए । ‘यसको विषयवस्तु अर्गानिक छ । सहरमा बस्ने मध्यम वर्गीय परिवारको कथालाई फिल्मले मनछुने गरी देखाएको छ । कलाकारहरुको काम एकदमै राम्रो छ । निर्देशक (सिद्धार्थ पुडासैनी)ले पनि उत्कृष्ट काम गर्नुभएको छ । हामीजस्ता निर्देशकले उहाँबाट सिक्नुपर्छ,’ उनले भने ।

अभिनेता विल्सन विक्रम राईले ‘सानो संसार’ नेपाली फिल्म उद्योगको ‘मास्टरपिस’ बन्न सक्ने दाबी गरे । ‘यो फिल्ममा हिरो-हिरोइन कोही छैन । तर, यसको कथा नै हिरो हो । यसको निर्देशक नै हिरो हो । र, यसको हरेक पात्र र दृश्य हिरो हो । यो फिल्मले सानो क्यानभासमा ठूलो कथा बोकेको छ,’ उनी फिल्म हेर्दा रोएका पनि रहेछन् । उनलाई हरेक नेपालीले यो फिल्म हेर्नुपर्छ भन्ने लाग्छ ।

गायक तथा अभिनेता यमन श्रेष्ठ भने कलाकारहरुको अभिनयबाट प्रभावित भएछन् । ‘कोही पनि कलाकारले अभिनय गरेको जस्तै लाग्दैन । कतै टाढाबाट कुनै एउटा घरभित्रको घटना हेरिरहेको महसुस हुन्छ । एकदमै मन छोयो,’ उनले भने । अभिनेत्री लुनिभा तुलाधरले फिल्मको कथामा आफूलाई महसुस गरेको बताइन् । उनले कलाकारहरुको अभिनयको पनि खुलेर प्रशंसा गरिन् ।

प्रिमियरमा तारिफको वर्षा भएपछि फिल्मका निर्देशक, कलाकार र निर्माताको अनुहारमा खुसीको चमक देखिएको थियो । यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री सीतादेवी तिमल्सेना (कलाकार केदार घिमिरेकी श्रीमती)ले सबैले तारिफ गर्दा आफूलाई सपनाजस्तो लागिरहेको बताइन् । उनी आफैं पनि फिल्म हेर्दा भावुक भएकी रहेछिन् ।

फिल्मका निर्माता अर्जुन कुमारले प्रिमियरको प्रतिक्रियाले उत्साह मिलेको बताए । ‘मैले जुन उद्देश्यका साथ फिल्म बनाएको थिएँ, प्रिमियरमा प्राप्त प्रतिक्रियाले त्यो उद्देश्य पूरा भएको महसुस गरेको छु,’ उनी भन्छन्, ‘यो ‘फिल गुड’ फिल्म हो । यसलाई महसुस गर्नुपर्छ । मलाई के विश्वास छ भने फिल्म हेर्न एकजना मात्रै पनि दर्शक आउनुभयो भने उहाँले पाँचजनालाई ‘रिकमेन्ड’ गर्नुहुन्छ ।’

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको ‘सानो संसार’मा सीतादेवीसहित अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, सरिता भण्डारी, जीवन गौतम, शिशिर सिवाकोटी लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्मातामा माधव वाग्ले छन् । फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । यसमा प्रवीन खड्काको छायांकन तथा रोमी मोसेस तन्डुकारको सम्पादन छ ।