मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिल्को’बाट सुनील पोखरेलको कमब्याक, पुष ५ गतेलाई रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/09/27

Jhilko First looks ok

 

लगभग १३ वर्षपछि रंगकर्मी तथा अभिनेता सुनील पोखरेलले ‘झिल्को’बाट फिल्ममा पुनरागमन गरेका छन् । उनले पछिल्लो पटक सन् २०११ मा आएको फिल्म ‘आचार्य’मा अभिनय गरेका थिए । ‘झिल्को’को शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी पुष ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । क्रिसमसको सार्वजनिक विदालाई लक्षित गरेर फिल्म प्रदर्शनमा आउन लागेको हो ।

पोस्टरमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मनोदशा दर्शाउन खोजिएको छ । मोबाइलको दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजलाई पार्ने प्रभावको कथामा फिल्म बनेको निर्देशक यादव भट्टराईले बताए । उनले यसअघि सामाजिक कथामा बनेका फिल्म ‘झोला’ र ‘भोर’को निर्देशन गरेका थिए ।

निर्देशक भट्टराई ‘झिल्को’लाई अहिलेको समयको कथा मान्छन् । भन्छन्, ‘आजको समयमा सबैभन्दा ठूलो कुलत नै मोबाइल फोन हो, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने कथामा फिल्म बनाएका छौं । प्रविधि भनेको आगो जस्तै हो । प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्छ भन्ने कुरालाई हामीले देखाउने प्रयास गरेका छौँ ।’

फिल्मको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । फिल्ममा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत, दीपक बज्राचार्यको छायांकन तथा निमेश श्रेष्ठले सम्पादन छ । सुशीला आचार्य र रामगोपाल थापा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा उमेश पौडेल छन् । फिल्मको अमेरिका र क्यानडा प्रदर्शन अधिकारी बिक्री भइसकेको छ ।