मिति : २०८१ आश्विन १३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नारीप्रधान भएर पनि ‘बेहुली फ्रम मेघौली’ रमाइलो छ : स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2024/09/29

स्वस्तिमा खड्काले ‘भर्सटायल’ अभिनेत्रीको रुपमा आफ्नो छवि निर्माण गरेकी छन् । ‘बुलबुल’मा निर्वाह गरेको ‘रणकला’को चरित्र होस् वा ‘चिसो मान्छे’मा सुदूरपश्चिमकी ‘पुष्पा’को चरित्र नै किन नहोस्, हरेकमा उनले आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् । अभिनयमा उनले जुन उचाइँ हासिल गरेकी छन्, त्यो धेरैका लागि लोभलाग्दो छ । अब उनले निर्मात्रीको परिचय पनि थपेकी छन् ।

स्वस्तिमाको पहिलो निर्माण रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ यही दशैंको घटस्थापना (असोज १७ गते)देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । सुरुमा उनलाई निर्देशकद्वय सजन बराल र आकाश काफ्लेले अभिनयका लागि मात्र फिल्म अफर गरेका थिए । स्क्रिप्ट पढेपछि भने स्वस्तिमा निर्माणमा पनि जोडिएकी थिइन् । उनले आफ्ना श्रीमान् तथा निर्देशक निश्चल बस्नेतलाई पनि संलग्न गराइन् ।

 

swastima khadka


ट्रेलरबाटै प्रष्ट हुन्छ कि ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान फिल्म हो । तर, नेपालमा नारीप्रधान भनेपछि रोधानधोना मात्र भएको फिल्म मानिन्छ, जहाँ महिलाको दुःख ज्यादा देखाइन्छ । स्वस्तिमाले पनि सुरुमा निर्देशकले फिल्म नारीप्रधान हो भनेर स्क्रिप्ट दिँदा दुःखकै कथा होला भन्ने ठानेकी रहेछिन् । तर, स्क्रिप्ट पढेपछि उनले अलग पाइन् । भन्छिन्, ‘यो फिल्म नारीप्रधान नै हो, तर रमाइलो छ ।’
 
३० टेक्न लागेकी छोरीका लागि योग्य केटा खोज्न परिवारले गरेको संघर्षलाई फिल्मले रमाइलो शैलीमा देखाएको उनको भनाई छ । उनी भन्छिन्, ‘अन्य नारीप्रधान फिल्म जस्तो यसलाई नसोचियोस् । नारीप्रधान फिल्म मात्र भन्दा निश्चित दर्शक केन्द्रित हुन जान्छ । तर, यो व्यवसायिक पक्ष भएको परिवारसँग बसेर हेर्न मिल्ने फिल्म हो, जहाँ एउटा विषयलाई एकदमै रमाइलोसँग देखाइएको छ ।’

३० वर्ष पुग्न लागेका विशेषगरी केटीलाई सामाजिक रुपमा विवाहको लागि कस्तो दबाब हुन्छ भन्ने कुरालाई रमाइलो ढंगमा फिल्मले पेश गरेको स्वस्तिमाको दाबी छ । उनको धारणासँग निश्चल पनि सहमत छन् । उनी ‘बेहुली फ्रम मेघौली’लाई परिवारसँग हेर्दा अझ महसुस गर्न सकिने फिल्म मान्छन् । बिहे भइसकेका वा बिहे हुन बाँकी हरेकले फिल्म हेर्दा आफूलाई पाउने निश्चलको विश्वास छ ।

यसमा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, रामबाबु रेग्मी, लुनिभा तुलाधर, मुकुन्द मैनाली लगायतको अभिनय छ । यतिबेला फिल्मको ‘छड्के सलाम’ गीत चर्चामा छ भने अघिल्लो साता सार्वजनिक ट्रेलरले दर्शकबाट अब्बल प्रतिक्रिया प्राप्त गरिरहेको छ ।