मिति : २०८१ आश्विन १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

रिश्मालाई ‘कबड्डी ५’बाट अफर, तर दिएकी छैनन् निर्णय

फिल्मीखबर, काठमाडौं, 2024/09/30

ब्लकबस्टर फ्रेन्चाइज ‘कबड्डी’को पहिलो र दोस्रो श्रृंखलामा मैयाँको भूमिकामा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङ पछिल्लो पटक ‘कबड्डी ३’को क्लाइमेक्समा झुल्किएकी थिइन् । उनको डेढ मिनेट जति सिन थियो । खासमा उनलाई ‘कबड्डी ४’मा दोहोर्‍याउने उद्देश्यले लिइएको थियो । तर, ‘कबड्डी ४’बाट उनलाई अफरै गरिएन । जसले गर्दा उनले निकै चित्त दुखाएकी थिइन् ।

अब ‘कबड्डी ५’ निर्माणको तयारीमा छ । यसमा ‘कबड्डी’को पहिलो श्रृंखलाकै कलाकारहरू दोहोर्‍याउने तयारीमा निर्देशक रामबाबु गुरुङ रहेको चर्चा छ । यसैले होला, रिश्मालाई पनि फिल्म अफर गरिएको छ । फिल्म ‘रिमै’मा काम गर्न आइतबार अमेरिकाबाट नेपाल आएकी उनले सञ्चारकर्मीसँगको कुराकानीमा निर्देशक रामबाबु गुरुङले आफूलाई फिल्म अफर गरेको जानकारी गराइन् ।

 

Rishma-Gurung


उनले भनेकी छन्, ‘मलाई ‘कबड्डी ५’बाट अफर चाहिँ आएको छ । रामबाबु दादाले नै फोन गरेर ‘कबड्डी ५’ बनाउँछौं, तिम्रो समय के छ भनेर सोध्नुभएको थियो । तर, मैले ‘हुन्छ’ भनिसकेको छैन । किनकि, म नेपालमा बस्दिनँ । अमेरिकामा बस्ने भएकाले समय के हुन्छ, त्यसपछि निर्णय दिन्छु भनेर बसेको छु ।’ उनले ‘कबड्डी ४’कै लागि भनेर आफूले ‘कबड्डी ३’मा काम गरेको पनि बताइन् ।

विवाह गरेर अमेरिका गएपछि रिश्मा फिल्म नगर्ने मनस्थितिमा थिइन् । ‘रिमै’ अफर हुँदा पनि उनी दोधारमा थिइन् । तर, फिल्मको टिम र उपेन्द्र सुब्बाले स्क्रिप्ट लेखेका कारण उनी काम गर्न तयार भएकी हुन् । उनी भन्छिन्, ‘अब म फिल्म गर्दिनँ नै भनेर बसेको थिएँ । तर, निर्देशक (खिल बहादुर गुरुङ)ले धेरै आग्रह गर्नुभयो । उहाँले उपेन्द्र सुब्बाको स्क्रिप्ट हो भनेपछि काम गर्न तयार भएँ ।’

पहिलो र दोस्रो ‘कबड्डी’पछि रिश्मालाई फिल्म अफरको ओइरो लागेको थियो । तर, यसपछि उनले मुख्य भूमिकामा फिल्म ‘झुम्की’ मात्र गरिन् । आफूले अध्ययनका कारण धेरै फिल्म गर्न नसकेको उनको भनाई छ । भन्छिन्, ‘फिल्मको ओइरो आउने बेलामा मैले पढाईमा ध्यान दिनुपर्‍यो । ‘मास्टर डिग्री’ पूरा गर्नु थियो । त्यसपछि विवाह भयो । यसैले फिल्मलाई त्यति धेरै समय दिन सकिएन ।’