मिति : २०८१ आश्विन १५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’लाई पर्याप्त शो, कस्तो होला ओपनिङ ?

फिल्मीखबर, काठमाडौं, 2024/09/30

यतिबेला कुनै फिल्मको ठूलो प्रतिक्षा भैरहेको छ भने त्यो ‘बेहुली फ्रम मेघौली’को हो । प्रचार शैली र ‘छड्के सलाम’ गीतका कारण चर्चामा रहेको फिल्ममा ‘स्टारकास्ट’ पनि बलियो भएकाले सुखद् ओपनिङको प्रक्षेपण गरिएको छ । यही बिहीबार घटस्थापनाबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको सोमबार साँझबाट प्रायः मल्टीप्लेक्सहरुमा एड्भान्स बुकिङ खुल्ला भैसकेको छ ।

फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा पर्याप्त शो पाएको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई आफ्नो देशभरको स्टेशनमा गरी कूल ७३ शो (काठमाडौं उपत्यकामा ३२ शो र उपत्यकाबाहिरका ९ वटा हलमा ४१ शो) उपलब्ध गराएको छ । शनिबारबाट नेपालमा लागेको साउथ फिल्म ‘देवरा’ अपेक्षाकृत नचलेकाले यसको शो पनि फिल्मलाई थपिन सक्छ ।

 

Behuli from Meghauli


अर्को मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले फिल्मलाई काठमाडौंका दुई हल र बुटवलमा गरेर १४ शो बाँडेको छ । त्यस्तै, वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो, बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन् । केही मल्टीप्लेक्सहरुमा भने फिल्मको एड्भान्स बुकिङ खुल्ला हुन बाँकी नै छ । सम्भवतः फिल्मले पहिलो दिन देशभर २ सयभन्दा बढी शो पाउन सक्छ ।

अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती ‘बेहुली फ्रम मेघौली’लाई छ । फिल्मको हाइप हेर्दा त्यो सम्भव देखिन्छ । बक्स अफिसमा लामो रेसको घोडा बन्न भने ‘वर्ड अफ माउथ’ नै बलियो हुनुपर्नेछ । फिल्मलाई सबैभन्दा ठूलो चुनौती भनेको असोज १८ गते (घटस्थापनाको भोलिपल्ट) प्रदर्शन हुन लागेको हलिउड फिल्म ‘जोकर २’ हो । यसले फिल्मको धेरै शोहरु कटौती गर्न सक्छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बनेको ‘बेहुली फ्रम मेघौली’ले छोरीका लागि योग्य वर (केटा) खोज्न परिवारले गर्ने संघर्षलाई रमाइलो शैलीमा देखाएको छ । फिल्ममा स्वस्तिमा खड्का र निश्चल बस्नेत शीर्ष भूमिकामा छन् भने बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ ।