मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिवारसँग हेर्नुको मजा ‘बेहुली फ्रम मेघौली’ले दिन्छ : निश्चल बस्नेत

फिल्मीखबर, काठमाडौं, 2024/10/01

फिल्म निर्देशनमा निश्चल बस्नेतको गर्विलो छवि छ । ‘लुट’बाट नेपाली फिल्मको ‘धार’ नै परिवर्तन गरेका उनलाई निर्देशकको रुपमा मात्र चिन्दा भने अन्याय हुन सक्छ । उनी निर्माता पनि हुन् । हिरो हुन् । गायक हुन् । म्यूजिक भिडियोमा मोडल पनि बनेका छन् । यसरी हेर्दा निश्चलको परिचयको आयाम फराकिलो छ । यिनै विविध विधाले युवापुस्तामा उनको निकै राम्रो क्रेज निर्माण गरेको छ ।

निश्चल जोडिएको हरेक फिल्मप्रति दर्शकमा ठूलो अपेक्षा रहने गर्छ । यसैले उनी गल्ती गर्न छुट नभएका निर्देशक मानिन्छन् । यही दबाबको भारीले हुनसक्छ, उनी हत्तपत्त कुनै फिल्ममा जोडिँदैनन् । ‘लुट २’पछि निर्देशनमा फर्किन मात्र उनलाई ६ वर्ष लाग्यो । यो बीचमा लेखेका थुप्रै स्क्रिप्टहरु चित्त नबुझेपछि उनले ‘डसबिन’मा मिल्काइदिए । यसले पनि फिल्मप्रति उनको गम्भीर्यता दर्शाउँछ ।

 

nischal basnet


आफूले लेखेको स्क्रिप्टमै त हत्तपत्त चित्त नबुझाउने निश्चलले पहिलो पटक अरुले नै लेखेको स्क्रिप्ट र निर्देशनमा विश्वास गरेर फिल्म ‘बेहुली फ्रम मेघौली’मा लगानी गरेका छन् । र, अभिनय पनि । यही फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा लेखन तथा निर्देशन साजन काफ्ले र आकाश बरालको छ । आकाशले निश्चलको अघिल्लो फिल्म ‘दिमाग खराब’को पनि स्क्रिप्ट लेखेका थिए ।

निर्देशकद्वयले फिल्मको ‘आइडिया’ लिएर आएपछि निश्चलले सोधेका रहेछन्- ‘प्रत्येक फिल्मले केही न केही भन्न खोज्छ । यसले के भन्छ ?’ निर्देशकहरुले ‘ब्रिफिङ’ गरेपछि निश्चल ‘कन्भिन्स’ भए । यसपछि उनी फिल्ममा जोडिएका हुन् । उनी भन्छन्, ‘उनीहरूले भन्न खोजेको चीज मन परेर नै काम गरेको हुँ । फिल्ममा एउटा स्टेटमेन्ट छ । त्यो चीज मनन् गरियो भने राम्रो हुन्छ जस्तो लाग्छ ।’

निश्चललाई ‘बेहुली फ्रम मेघौली’ले दर्शकलाई निराश बनाउँदैन भन्ने लाग्छ । ‘मनोरञ्जनको हिसाबले दर्शकलाई फिल्म हेरुन्जेल ‘बोर’ लाग्दैन । यो फिल्म नउम्कियोस् भनेर मैले साजन र आकाशलाई ‘गाइड’ राम्ररी नै गरिरहेको थिएँ,’ उनी भन्छन्, ‘परिवारसँग हेर्नुको मजा यो फिल्मले दिनेछ भन्ने मलाई लाग्छ ।’ हलबाट फिल्म हेरेर निस्किँदा दर्शकले सन्देश पनि लिएर फर्किने उनको विश्वास छ ।

हरेक फिल्मले मनोरञ्जनसँगै दिमागमा केही तरंग पनि ल्याउनुपर्छ भन्ने निश्चललाई लाग्छ । ‘बेहुली फ्रम मेघौली’ले पनि मनोरञ्जनसँगै सशक्त रुपमा सामाजिक सन्देश दिएको उनको दाबी छ । सामाजिक कथावस्तुलाई फिल्मले रमाइलोसँग भनेको उनी बताउँछन् । फिल्ममा उनको जोडी आफ्नै श्रीमती स्वस्तिमा खड्कासँग बाँधिएको छ । निर्माणमा पनि स्वस्तिमाले निश्चललाई साथ दिएकी छन् ।