मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मीन भामको तयारी : २०२६ मा नयाँ फिल्म, आगामी चुनावमा उम्मेदवार

फिल्मीखबर, काठमाडौं, 2024/10/02

दुई फिल्म ‘कालो पोथी’ र ‘शाम्बाला’बाट विश्व मानचित्रमा नेपाल र नेपाली फिल्मलाई चिनाउन ठूलो भूमिका खेलेका निर्देशक मीन भाम अब राजनीतिमा पनि सक्रिय हुने भएका छन् । त्यसो त उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन् । अब सदन पस्ने उनको तयारी छ । त्यसका लागि २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ नै चुनाव लड्न उनी तम्तयार छन् ।

मीनले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई राजनीतिमा ठूलो चाह छ । म २०८४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्छु । टिकट कुन पार्टीले देला वा नदेला, त्यसबेलासम्मको सिनेमा यात्राले मलाई कहाँ डोहोर्‍याएर लैजाला, ती कुराहरुलाई छाड्ने हो भने २०८४ सालको चुनाव प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नै लड्छु भनेर म मानसिक र भौतिक सबै हिसाबले तयार भइसकेको छु ।’

 

min bham


उनलाई आफू आबद्ध भएकै पार्टी कांग्रेसबाट चुनाव लड्ने इच्छा छ । यदि पार्टीबाट टिकट नपाए स्वतन्त्र उठ्ने उनको तयारी छ । उनी भन्छन्, ‘कांग्रेसले टिकट दिन्छ भन्नेमा म विश्वस्त छु । यदि पाइनँ भने स्वतन्त्र उठ्छु । चुनाव जित्ने र हार्ने कुरासँग मलाई त्यति चिन्ता र चासो छैन । तर, म तयार भएर गइसकेपछि पछाडि चाहिँ हट्नु हुँदैन भन्ने हो । यसैले म २०८४ सालको चुनाव लड्छु नै ।’

निर्देशक भाम आगामी प्रतिनिधि सभाको चुनावभन्दा अगाडि एउटा फिल्म बनाउने तयारीमा छन् । ‘मैले चुनावभन्दा अगाडि एउटा फिल्म बनाउन खोजिरहेको छु । पहिलाको जस्तो अबको फिल्म बनाउन त्यति धेरै समय नलाग्ला । सन् २०२६ भित्रै छायांकन गर्ने मेरो तयारी हो,’ उनले भनेका छन् । मीनको अबको फिल्ममा बलिउड स्टार नवाजुद्दीन सिद्दीकीको अभिनय रहने निश्चित प्रायः छ ।

उनी आगामी निर्वाचनमा उम्मेदवार बन्न मात्र होइन, नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा पनि छन् । ‘आगामी अधिवेशनमा म आफ्नो स्पेश खोज्छु नै,’ उनी भन्छन्, ‘मेरो सपना सहमहामन्त्री पदमै उम्मेदवार दिने हो । यदि मलाई पार्टीले बाटो छेक्यो भने त्यहाँ लडेर, विद्रोह गरेर भए पनि सकभर त्यहीँ अडिन प्रयत्न गर्छु । नभए खुल्ला उठ्छु ।’

मुगुमा जन्मिएका मीनले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको घोषणापत्र तयारी समितिमा समेत रहेका उनलाई मुगुबाट कांग्रेसले पिछडिएको खस आर्य तर्फबाट समानुपातिक उम्मेदवारमा पनि सिफारिस गरेको थियो । उनको नाम कांग्रेसको समानुपातिक सूचीको ७औं नम्बरमा थियो । तर पनि उनलाई सांसद बन्न दिइएन ।

Most Visited News (monthly)