मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’को उत्साहजनक सुरुवात, हलमा दर्शकमाझ घेरिइन् स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2024/10/03

मौसम पूर्वानुमान महाशाखाले बागमतीसहित केही प्रदेशमा बुधबार र बिहीबार पानी पर्ने सम्भावना रहेको जनाएपछि फिल्म ‘बेहुली फ्रम मेघौली’को ओपनिङ विथोलिन सक्ने आँकलन गरिएको थियो । पूर्वमा बिहीबार बिहान वर्षा भए पनि काठमाडौंको मौसम भने सफा नै रह्यो । जसले गर्दा फिल्मको ओपनिङ प्रभावित हुन पाएन । र, फिल्मले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ ।

 

Behuli from Meghauli


प्रदर्शनपूर्व ‘एड्भान्स बुकिङ’मै फिल्मप्रति राम्रो क्रेज देखिएको थियो । केही शोज अघिल्लो दिन नै ‘सोल्डआउट’ भइसकेका थिए । बिहीबार बिहानबाटै ‘डोरसेल’ पनि राम्रो हुँदा फिल्मले देशभर उच्च अकुपेन्सी कायम गरेको छ । बिहानी शोजमा ५० प्रतिशतसम्म अकुपेन्सी रहेकोमा दिउँसो थप वृद्धि भयो । मध्यान्हदेखि प्रायःजसो शोजमा ८० प्रतिशतमाथि अकुपेन्सी छ । यो उत्साहजनक हो ।

काठमाडौंसहित पोखरा, भरतपुर, नेपालगञ्ज, बुटवल, विर्तामोड, इटहरी, धरान, दाङ जस्ता सहरहरूमा पहिलो दिन नै फिल्म हेर्न देखिएको दर्शकको लहरले आगामी दिनमा व्यापारमा उछाल आउन सक्ने सम्भावना देखाउँछ । हरेक उमेर समूहका दर्शकलाई आकर्षित गरेको फिल्मले प्रतिक्रिया पनि राम्रै पाएको छ । ‘छड्के सलाम’ गीतले पनि हलमा दर्शक तान्न ठूलो भूमिका खेलेको छ ।

 

Behuli from Meghauli


पहिलो दिन नै बिहानदेखि फिल्मले उच्च अकुपेन्सी हासिल गरेपछि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का दर्शकहरुसँग भेट्न काठमाडौंका विभिन्न हलहरुमा पुगिरहेकी छन् । बिहीबार बिहानै लबिम, सिभिल, बिग मुभिज लगायतका हाउसफुल मल्टीप्लेक्स हलहरुमा पुग्दा उनीसँग तस्वीर खिच्न दर्शकहरुबीच ठूलो हानाथाप चलेको थियो । दर्शकको प्रेमले उनी पनि प्रफुलित देखिन्थिन् ।

उनले सिक्वेल फिल्म नहुँदा पनि दर्शकमा देखिएको उत्साहले खुसी मिलेको बताइन् । उनी भन्छिन्, ‘एकदमै खुसी लागिरहेको छ । सिक्वेल फिल्म नहुँदा पनि यसरी हलमा दर्शकको उपस्थिति एकदमै कम देख्न पाइन्छ । बिहानदेखि जुन खालको दर्शकको उत्साह देखिएको छ, त्यसले म एकदमै खुसी छु ।’ हलबाट निस्किएका प्रायः दर्शकले स्वस्तिमाको अभिनयको ज्यादा प्रशंसा गरेका छन् ।

 

Behuli from Meghauli


‘बेहुली फ्रम मेघौली’ले सर्वाधिक शोज (देशभरका हलमा ३४० शोज) पाएको थियो । उपलब्ध शोजमा अकुपेन्सी पनि उत्साहजनक देखिएकाले फिल्मले १ करोड २० लाखमाथिको ओपनिङ गर्ने देखिन्छ । शुक्रबारबाट रिलिज हुने हलिउड फिल्म ‘जोकर २’बाहेक फूलपाती (असोज २४)सम्म स्वदेशी र विदेशी फिल्मको चुनौती नभएकाले फिल्मले उत्साहजनक व्यापारलाई कायम राख्न सक्छ ।

सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा भने फिरोज खड्का र शंकर पाण्डे छन् । फिल्मले विवाहको कथा भन्छ ।

Most Visited News (monthly)