मिति : २०८१ आश्विन १८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन फिल्म बनाउन चुनौती छ, विदेशी फिल्मसँग दाँजिन्छ : विराज भट्ट

फिल्मीखबर, काठमाडौं, 2024/10/04

नेपाली फिल्ममा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन फिल्मकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । अहिले नेपालमा एक्सनलाई नै ‘रिक्स’ जनरा मानिन्छ ।

पछिल्लो समय भने नेपालमा एक्सन फिल्मको ‘ट्रेन्ड’ सुरु हुन थालेको छ । र, विराज पनि ४ वर्षपछि एक्सन फिल्म ‘१२ गाउँ’ लिएर फर्किएका छन् । यो फिल्म दुईवटा कारणले दर्शकमाझ प्रतिक्षीत छ । पहिलो त विराज वर्षौंपछि एक्सन अवतारमा फर्किएका छन् । र, दोस्रो भनेको उनका आफ्नै छोरा समीर भट्ट यसै फिल्मबाट हिरो बनेका छन् । यतिबेला विराजभन्दा समीरकै चर्चा बढी छ ।  

‘१२ गाउँ’ रिलिजका लागि एक हप्ता बाँकी रहँदा बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच विराज र समीरले पहिलो पटक एकसाथ मिडिया ‘फेस’ गरे । करिब एक घण्टा चलेको कार्यक्रममा समीरले पत्रकारको अधिकांश प्रश्नमा पिताको प्रशंसा ज्यादा गरेका थिए । विराज भने बीचमा लामो समय नेपाली फिल्ममा एक्सन विधा हराएकोमा दुःखी देखिए । उनी यसलाई दुर्भाग्यपूर्ण समय मान्छन् ।

उनी भन्छन्, ‘बीचमा एक्सन विधा कता-कता हराएको जस्तो देखिएको थियो । त्यो नेपाली फिल्मका लागि दुर्भाग्यपूर्ण थियो । लामो समयदेखि नेपाली दर्शकले साउथको एक्सन हेर्दै आइरहेको अवस्था छ ।’ विराज ‘१२ गाउँ’ बनाउनुको उद्देश्य नै नेपाली फिल्मलाई माथि लैजानु रहेको जिकिर गर्छन् । समीरलाई लामो समय ट्रेनिङ गराउनुको उद्देश्य पनि केही नयाँ दिन रहेको उनको भनाई छ ।

 

biraj bhatta and samir bhatta


नेपालमा एक्सन फिल्म बनाउँदा विदेशी फिल्मसँग तुलना गर्ने प्रवृत्ति रहेको उनको अनुभव छ । ‘कमेडी, पारिवारिक वा अर्गानिक भनिने फिल्म बनाउँदा कसैसँग तुलना गरिँदैन । जब एक्सन फिल्म बनाउन थाल्छौं, तब ‘सलार’, ‘पठान’, ‘केजीएफ’ जस्ता विदेशी फिल्मसँग तुलना हुन्छ । यो ठूलो चुनौती हो । हामी पैसामा त्यस्तो फिल्म बनाउन सक्दैनौं । हामीले गर्न सक्ने भनेको मिहिनेत हो ।’

‘१२ गाउँ’लाई अलग सोचले बनाएको विराज बताउँछन् । कमाउने उद्देश्यले मात्र फिल्म नबनाएको उनको भनाई छ । उनी भन्छन्, ‘यो मैले अलग सोचले बनाएको फिल्म हो । यो एउटा सुरुवात हो । मेरो चाहना फिल्म बनाएर कमाइहालुम् भन्ने मात्र छैन । नेपाली फिल्मलाई एक्सनको ‘लेभल’मा कसरी माथि लैजान सकिन्छ भन्ने सोचमा नै म हुन्छु । म अझै जोखिमपूर्ण फिल्म बनाउन चाहन्छु ।’

समीर भने विराजलाई आफ्नो गुरु मान्छन् । उनले सधैं बुबालाई पछ्याउने गरेका छन् रे । ‘ट्रेनिङ मैले गरेको भएता पनि मार्गदर्शन बुबाले गराउनुभएको हो । मैले उहाँलाई नै पछ्याउने गरेको हुँ । उहाँ जस्तो बुबा पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु । हरेक मान्छेको जीवनमा एउटा गुरुको आवश्यकता पर्छ । नभए दिशा भड्किन्छ । मेरो हकमा चाहिँ गुरु नै बुबा हुनुहुन्छ,’ समीरले भने ।

अब पिताको लिगेसीलाई अगाडि बढाउनुपर्ने चुनौती समीरलाई छ । यो मानेमा विराज भट्टको छोरा भएकोमा घाटा महसुस हुँदैन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई विराज भट्टको छोरा हुनुमा गर्व लाग्छ । अहिले भइरहेको चर्चाभन्दा पनि म विराज भट्टको छोरा भएकोमा गर्व गर्छु । उहाँको छोरा भएकाले म घाटा देख्दिनँ । फाइदै फाइदा देख्छु । किनकि उहाँ मेरो बुबा र गुरु दुवै हो ।’

दुई सातादेखि समीरले फिल्म ‘बलिदान’को छायांकन गरिरहेका छन् । सम्झौताको हिसाबले भने यो उनको पहिलो फिल्म हो । तर, निर्माणमा ढिलाई हुँदा ‘१२ गाउँ’ डेब्यु बन्न पुग्यो । ‘बलिदान’पछि राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा काम गर्ने उनको सोच छ । तर, समीर भविष्यलाई लिएर न गम्भीर छन् न त्यस्तो केही सोचेका छन् । उनले अहिलेको चरणलाई नै ‘इन्जोय’ गरिरहेका छन् ।

Most Visited News (monthly)