मिति : २०८१ आश्विन १९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’को ८० लाखको ओपनिङ, पाइरेसीको मारमा पर्‍यो फिल्म

फिल्मीखबर, काठमाडौं, 2024/10/04

घटस्थापनाको विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले घरेलु बक्स अफिसमा उत्साहप्रद ओपनिङ गरेको छ । नेपाली फिल्मको इतिहासमै सर्वाधिक सोज (३४०) पाएको फिल्मले पहिलो दिन ८० लाखको ओपनिङ गरेको वितरक कम्पनी डिसिएनले जनाएको छ । बिहीबार देशका प्रायः सहरहरूमा फिल्मले बिहानदेखि नै उच्च अकुपेन्सी कायम गरेको थियो ।

शुक्रबार पनि फिल्मको अवस्था राम्रो देखिन्छ । कामकाजी दिन भएकाले बिहानी सोजमा अकुपेन्सी औसत देखिए पनि दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । साँझ ६ बजेपछि काठमाडौंसहित बाहिरका धेरै सहरमा ६० प्रतिशत अकुपेन्सी नाघेको छ । एकाध सोज हाउसफुलको संघारमा पनि छन् । यसरी हेर्दा शुक्रबार फिल्मले २५/३० लाख हाराहारी कमाउन सक्ने देखिन्छ ।

 

Behuli from Meghauli


शुक्रबारबाट आएको हलिउड फिल्म ‘जोकर २’ले ‘बेहुली फ्रम मेघौली’लाई ठूलो असर गर्न सक्ने प्रक्षेपण गरिएको थियो । सुपरहिट फिल्मको सिक्वेल भएकाले ‘मेघौली’को दोस्रो दिनै धेरै सोज गुम्न सक्ने खतरा देखिन्थ्यो । तर, नेपालका अधिकांश मल्टीप्लेक्सहरुले दुवै फिल्मलाई लगभग बराबर सोज बाँडफाँड गरेका छन् । अकुपेन्सी दरमा भने ‘जोकर २’भन्दा ‘बेहुली’ नै अगाडि देखिएको छ ।

दुई दिनको प्रदर्शन सुखद् रहेकाले भोलि शनिबार फिल्मको व्यापारमा उछाल आउन सक्ने सम्भावना उच्च छ । आइतबारबाट भने फिल्मको वास्तविक परीक्षा सुरु हुनेछ । किनकि, शनिबारसम्म प्रचार सामाग्री र कलाकारको क्रेजको प्रभाव केही हदसम्म हलमा देखिन्छ । आइतबारबाट दर्शक प्रतिक्रियाले फिल्मको व्यापार निर्धारण गर्छ । ‘बेहुली फ्रम मेघौली’लाई दर्शकले रुचाएकै देखिन्छ ।

यो फिल्मले हलमा राम्रो दर्शक पाइरहँदा पाइरेसीको समस्या पनि भोगिरहेको छ । टिकटकजस्ता प्लेटफर्ममा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकहरुले हालिदिँदा निर्माता मारमा परेका छन् । केहीले त तीन मिनेटसम्मको क्लिप्स टिकटकमा राखिदिएका छन् । यो समस्या यसअघि पनि थुप्रै नेपाली फिल्मले भोगिसकेका छन् । यो गैरकानुनी काम हो भने बोध नै दर्शकमा हुन सकेको छैन ।

 

qfx


फिल्म हेर्दा विर्तामोडकी श्रद्धाले जितिन् मोबाइल

मल्टीप्लेक्स चेन ‘क्यूएफएक्स’ले आफ्नो देशभरको हलबाट ‘बेहुली फ्रम मेघौली’को टिकट काट्ने दर्शकलाई साढे २ लाखमाथि पर्ने एउटा इलेक्ट्रीक स्कुटर तथा सातवटा मोबाइल उपहार दिने घोषणा गरेको थियो । जसअन्तर्गत विर्तामोडस्थित वान स्टप मलबाट फिल्मको टिकट काटेकी श्रद्धा प्रसाइँले मोबाइल जितेकी छन् । अन्य विजेताहरुको नाम भने क्रमशः घोषणा गरिने जनाइएको छ ।

Most Visited News (monthly)