मिति : २०८१ आश्विन २१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसी घिमिरेले निर्देशन गर्ने ‘पहाड’को गीतमा विपिनको र्‍याप

फिल्मीखबर, काठमाडौं, 2024/10/07

bipin karki

 

तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् । आइतबार काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा उनले र्‍याप गीत गाएका हुन् । उनले यसअघि फिल्म ‘छड्के’को ‘भुटुटुटु’ गीत पनि गाएका थिए । ‘पहाड’को गीतमा विपिनलाई भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती) लगायतले गायनमा साथ दिएका छन् ।

गीतमा रञ्जीत गजमेरको संगीत तथा निर्देशक घिमिरे स्वयंको शब्द रचना छ । संगीतकार गजमेरले लामो समयपछि नेपाली फिल्मको गीतमा संगीत भरेका हुन् । कुनै बेला उनले संगीत भरेका ‘मायाको बारीमा’, ‘माया के होला’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘सुन् कथा एउटा गीत’, ‘सुन् भनन्’, ‘साँची रहुँ जस्तो लाग्छ’ जस्ता कयौं गीत चर्चित छन् । उनी निर्देशक घिमिरेका ससुरा हुन् ।

आगामी कात्तिकपछि छायांकनको तयारी गरिएको फिल्ममा विपिन मुख्य भूमिकामा देखिनेछन् भने मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायतका कलाकार पनि निश्चित भइसकेका छन् । निर्देशक घिमिरेले फिल्ममा अर्का एक चल्तीका अभिनेता र एक नव-अभिनेत्री पनि रहने जानकारी दिए ।

 

bipin karki


फिल्मको ५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा र ५० प्रतिशत मुम्बईमा छायांकन हुने जनाइएको छ । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेका फिल्मको प्रोडक्सन डिजाइनरमा निर्देशक घिमिरेकी छोरी भावना छिन् । पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा फिल्म बन्न लागेको हो ।