मिति : २०८१ आश्विन २२, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैंका तीन फिल्म : ‘छक्का पञ्जा ५’लाई उच्च सोज, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’लाई कति ?

फिल्मीखबर, काठमाडौं, 2024/10/08

यही बिहीबार (फूलपाती)बाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने तयारीमा छन् । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ । तीनवटै फिल्मको ‘स्टारकास्ट’ र चर्चा हेर्दा यसपटक बक्स अफिसमा टक्करको प्रतिस्पर्धा हुने देखिन्छ । सोमबारबाट यी तीन फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भैसकेको छ ।

सोज संख्यामा ‘छक्का पञ्जा ५’ अन्य दुई फिल्मभन्दा धेरै अगाडि छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा मात्र फिल्मले कूल ९० सोज पाएको छ । बुधबार साँझसम्म क्यूएफएक्समै फिल्मले एक सय सोज नघाउने सम्भावना प्रवल छ । यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि फिल्मलाई उच्च सोज बाँडेका छन् ।

 


सरसर्ती हेर्दा फिल्मले पहिलो दिन देशभर ३ सय हाराहारी सोज पाउन सक्ने देखिन्छ । यो संख्या आक्रामक ओपनिङका लागि पर्याप्त छ । अब प्राप्त सोजलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई रहनेछ । यसका अघिल्ला चारवटै श्रृंखला सफल भएकाले ‘छक्का पञ्जा ५’ले पनि बक्स अफिसमा ठूलो अंक जोड्न सक्ने प्रक्षेपण गरिएको छ ।

सोज संख्याको आधारमा ‘१२ गाउँ’ भने दोस्रो स्थानमा छ । क्यूएफएक्स चेनमा फिल्मले कूल ५३ सोज पाएको छ । देशका अन्य मल्टीप्लेक्ससहितको सोज जोड्ने हो भने डेढ सय पुग्छ । यो सोज संख्यालाई राम्रो मान्न सकिन्छ । केही मल्टीप्लेक्समा एड्भान्स बुकिङ पनि उत्साहजनक देखिएको छ । विशेषगरी काठमाडौंको एफक्युबमा फिल्मको ठूलो मात्रामा टिकट बिक्री भैरहेको छ ।

त्यस्तै, ‘ज्वाइँ साब’ सोज संख्यामा तेस्रो स्थानमा छ । फिल्मले पहिलो दिन देशभर एक सय हाराहारी सोज पाउने देखिएको छ । क्यूएफएक्स चेनमा फिल्मलाई कूल ४० सोज प्राप्त छ । फूलपातीका तीन नेपाली फिल्मले गर्दा अघिल्लो हप्ता आएको हलिउडको ठूलो फिल्म ‘जोकर २’लाई बिहीबारबाटै उतारिँदैछ । त्यसो त नेपालमा यो फिल्मको व्यापार नाजुक छ ।

गत हप्ताको बिहीबार (घटस्थापना)बाट प्रदर्शनमा आएको ‘बेहुली फ्रम मेघौली’ले भने फूलपातीको दिन देशभर ५० हाराहारी सोज ‘होल्ड’ गर्ने देखिन्छ । फूलपातीको भोलिपल्ट (शुक्रबार) बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘जिग्रा’ रिलिज हुन लागेकाले यसलाई पनि मल्टीप्लेक्सहरुले राम्रो सोज उपलब्ध गराएका छन् । यसपालिको दशैंमा दर्शकलाई आफ्नो रोजाई अनुसारको फिल्म हेर्न पाउने अवसर छ । अब व्यापारमा कुन फिल्मले बाजी मार्छन्, त्यो हेर्न बाँकी छ ।