मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’मा सामान्य कथा छ, कमेडी र इमोसन दुवै छ : बसन्त निरौला

फिल्मीखबर, काठमाडौं, 2024/10/09

दशैंको फूलपाती (असोज २४ गते)बाट प्रदर्शनको तयारीमा रहेको ‘ज्वाइँ साब’ निर्देशक बसन्त निरौलाको छैटौं फिल्म हो । यसअघि उनले ‘विजयपथ’, ‘राजनीति’, ‘आवेग’, ‘समर्पण’ र ‘मेला’ गरी पाँच फिल्मको निर्देशन गरिसकेका छन् । जसमध्ये कुनै प्रेमकथामा बनेका थिए त कुनै एक्सनप्रधान थिए । ‘ज्वाइँ साब’ भने कमेडी कथामा बनेको फिल्म हो ।

एक्सन फिल्मबाट करिअर सुरु गरेका बसन्त कमेडीमा केही फरक गर्ने सोचले ‘ज्वाइँ साब’ बनाएको बताउँछन् । भन्छन्, ‘पहिला मलाई एक्सन फिल्म मनपर्थ्यो । मैले जुन समयमा फिल्म निर्देशनमा डेब्यू गरें, त्यो समयमा एक्सन फिल्महरु बढी चलिरहेका थिए । अब चाहिँ कमेडीमा फरक केही गरौं कि भन्ने सोचमा थिएँ । हामीले झण्डै डेढ वर्षको योजनापछि यो फिल्म तयार पारेका हौं ।’

 

Basanta Niraula


‘ज्वाइँ साब’का लेखक सविन अधिकारीले फिल्मको कन्सेप्ट सुनाउने वितिक्कै उनी लोभिएका रहेछन् । ‘लेखिरहने मान्छेसँग धेरै कन्सेप्ट हुन्छ । अरु कन्सेप्ट पनि आएको थियो । ‘ज्वाइँ साब’को कन्सेप्ट आएपछि चाहिँ मलाई यसमा फिल्म बनाउन इच्छा जाग्यो । कथा सामान्य छ, हामीले समाजमा देखिरहेकै कथा हो,’ उनी भन्छन् । फिल्मको कथाले दर्शकलाई जोड्ने गर्ने उनको विश्वास छ ।

‘ज्वाइँ साब’को कथा आफैंमा रोचक रहेको बसन्त बताउँछन् । विवाहपछि बेहुलीलाई घर भित्राउने चलन रहेकोमा फिल्ममा बेहुलीको स्थानमा बेहुला घर भित्रिँदाको विषयलाई उठाइएको उनले प्रष्ट पारे । ‘केटा मान्छे विवाह गरेर अर्काको घरमा भित्रिँदा के हुन्छ भनेर परिकल्पना गरेका हौं,’ उनले भने, ‘यो महिलाप्रधान फिल्म हो । त्यसकारण पनि दर्शकलाई मनपर्छ भन्ने विश्वास छ ।’

ट्रेलर हेर्दा फिल्म पूर्ण रुपमा कमेडीप्रधान देखिन्छ । तर, फिल्मले ‘इमोसनल’ पनि गराउने उनको दाबी छ । भन्छन्, ‘फिल्मलाई एक समयसम्म कमेडीमै लगेका छौं । तर, कमेडीसँगै ‘इमोसन’ पनि छ । जितु नेपालले निर्वाह गरेको पात्रले हरेक मान्छेलाई ‘कनेक्ट’ गर्छ । दर्शकले मिठो विषयमा गाउँघर र समाजको कथा हेर्न पाउनुहुनेछ ।’

फिल्ममा जितु नेपाल र नीति शाहको जोडी बाँधिएको छ भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल लगायतको अभिनय छ । फिल्मको ‘कसम बत्तीको’ गीत यतिबेला चर्चामा छ । गीतले नै फिल्मको राम्रो ‘हाइप’ निर्माण गरेको छ । मंगलबारदेखि फिल्मको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ । केही सोजमा टिकट बिक्री राम्रो देखिएको छ ।