मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिस प्रतिस्पर्धामा उत्रिए ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’

फिल्मीखबर, काठमाडौं, 2024/10/10

दशैंको फूलपातीको दिन पारेर तीन ठूला घरेलु फिल्म ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’को बक्स अफिस प्रतिस्पर्धा सुरु भएको छ । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ । तीनवटै फिल्ममा बलियो ‘स्टारकास्ट’ छ भने प्रचार सामाग्रीले पनि राम्रो ‘हाइप’ निर्माण गरेका छन् । अब व्यापारमा कुन फिल्मको पल्ला भारी हुन्छ, त्यो मात्र पखाईको विषय हो ।

यी तीन फिल्ममध्ये सर्वाधिक सोज भने फ्रेन्चाइज फिल्म भएकाले ‘छक्का पञ्जा ५’ले पाएको छ । यसलाई देशभर लगभग ३ सय सोज मिलेको छ । र, उपलब्ध अधिकांश सोजको उल्लेख्य मात्रामा टिकट बिक्री भएको छ । धेरै सोज त ‘सोल्डआउट’ भइसकेका छन् । बिहीबार बिहानैदेखि ‘डोरसेल’ पनि राम्रो देखिएको छ । यसरी हेर्दा फिल्मले आक्रामक ओपनिङ गर्ने निश्चित प्रायः छ ।

सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथामा तयार भएको ‘छक्का पञ्जा ५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । उनको यो चौंथो निर्देशित फिल्म हो । दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, निर्मल शर्मा, राजाराम पौडेल लगायतको अभिनय रहेको फिल्ममा आर्यन सिग्देल केमियो भूमिकामा छन् । यसका अघिल्ला चारवटै श्रृंखला व्यावसायिक रुपमा सफल भएका थिए ।

 


सोज संख्यामा दोस्रो स्थानमा रहेको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को पनि अग्रिम बुकिङमा राम्रो क्रेज देखियो । फिल्मलाई प्राप्त धेरै सोजको ८० प्रतिशत टिकट रिलिजको अघिल्लो दिन नै बिक्री भइसकेका थिए । ‘डोरसेल’ पनि राम्रो देखिएकाले फिल्मले सुखद ओपनिङ गर्ने देखिन्छ । विशेषगरी सिंगल थिएटरमा फिल्मले राम्रो कमाई गर्ने प्रक्षेपण गरिएको छ ।

‘१२ गाउँ’बाट विराजका छोरा समीरले अभिनेताको रुपमा डेब्यु गरेका छन् । यो फिल्मबाट उनी ‘स्टार’को रुपमा उदाउन सक्ने कतिपयको विश्लेषण छ । तर, त्यसका लागि फिल्मको सफलता अनिवार्य रहनेछ । र, उनले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नुपर्नेछ । विराज स्वयंको पनि मुख्य भूमिका रहेको यो फिल्मबाट अभिनेत्रीमा न्यान्सी खड्का र सनिशा भट्टराईले डेब्यु गरेका छन् । फिल्म एक्सनप्रधान र सामाजिक कथावस्तुमा निर्माण भएको छ ।

बसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ भने सोज संख्या र अग्रिम बुकिङ दुवैमा तेस्रो स्थानमा छ । देशभर लगभग एक सय हाराहारी सोज पाएको फिल्मलाई बक्स अफिसमा आफ्नो पकड बनाउन बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । र, यसमा निर्माण टिम विश्वस्त छ । ‘कसम बत्तीको’ गीतका कारण चर्चामा रहेको फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् ।

‘ज्वाइँ साब’को कथावस्तु रोचक देखिएको छ । विवाहपछि बेहुलाको घरमा बेहुली भित्रने चलन रहेकोमा फिल्मले बेहुलीको घरमा बेहुला भित्रिएको कथा उठाएको छ । यसले गर्दा पनि फिल्मप्रति दर्शक आकर्षित हुनसक्ने सम्भावना देखिन्छ । यसमा प्रकाश घिमिरे, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्त, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।