मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलियालाई झट्का, डुब्यो ‘जिग्रा’

एजेन्सी, काठमाडौं, 2024/10/17

बलिउडकी उम्दा अभिनेत्रीमा गनिन्छिन्, आलिया भट्ट । उनलाई फिल्मको सफलता पनि निरन्तर मिल्दै आएको छ । कोरोना महामारीपछि मात्र उनका चार फिल्म सफल भए । तर, अघिल्लो साता प्रदर्शनमा आएको उनको नयाँ फिल्म ‘जिग्रा’ले भने बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेको छ । बलिउड हंगामाले त फिल्मलाई ‘फ्लप’ घोषणा गरिसकेको छ ।

 


४ करोड ५५ लाखको ओपनिङ गरेको फिल्मले विकेन्डसम्म १६ करोड ६४ लाख जोडेको थियो । विकेन्डपछि भने फिल्मको व्यापार ओरालो लाग्यो । छैटौं दिनमा आइपुग्दा फिल्मको कमाई १ करोड ८५ लाखमा झरेको छ । र, ६ दिनमा फिल्मले २१ करोड १० लाख कमाएको छ । ‘स्टारकास्ट’को आधारमा फिल्मको एक हप्ताको कलेक्सनलाई निकै कमजोर मानिएको छ ।

फिल्मको लागत ८० करोड छ । आलियाले मात्र १० करोडमाथि पारिश्रमिक लिएकी छन् । तर, फिल्मको गिर्दो व्यापार हेर्दा अब लगानीको आधा हिस्सा पनि उठ्न सम्भव देखिँदैन । यतिबेला बक्स अफिसमा संघर्ष गरिरहेको ‘जिग्रा’ले दर्शक र समीक्षकबाट मिश्रित समीक्षा प्राप्त गर्नु र एकपछि अर्को विवाद उब्जिँदा फिल्मलाई ठूलो असर गरेको देखिन्छ ।

ट्रेलर रिलिजसम्म माहोल ठीकठाक थियो । तर, जब फिल्म रिलिजको संघारमा आइपुग्यो, तब एकपछि अर्को विवाद जोडिँदै गयो । जसले फिल्मको माहोल नै विगार्‍यो । विशेषगरी फिल्मका निर्देशक वासन बालाले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति घातक बन्यो । उनले फिल्मको स्क्रिप्ट आलियालाई सोचेर नलेखेको तर निर्माता करण जोहरले आफ्नो अनुमति बिना आलियालाई स्क्रिप्ट पठाएको खुलासा गरेका थिए । यो कुरालाई सामाजिक सञ्जालमा यसरी प्रचार गरियो कि उनी ‘जिग्रा’मा आलियालाई लिएकोमा खुसी छैनन् । जबकि, उक्त अन्तर्वार्तामा आलिया पनि थिइन् ।

निर्देशक बालाको अभिव्यक्तिपछि बलिउडमा फेरि नेपोटिज्मको बहस चर्कियो । केही वर्षअघि निर्देशक इम्तियाज अलीले फिल्म ‘हाइवे’का लागि करणले आलियाको नाम सिफारिस गरेको भनेर दिएको अभिव्यक्ति खोतल्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलियाको २० फिल्मको लिस्ट नै तयार पारे, जसमा निर्माता वा सह-निर्मातामा करण जोहर छन्, या त भट्ट थरका व्यक्ति छन् । यसपछि करण र आलियाको व्यापक ट्रोल भयो । जसले फिल्मको माहोल नै नकारात्मक बन्न पुग्यो ।

अर्कोतिर बलिउड अभिनेत्री दिव्या खोसला (टी-सीरीजका प्रमुख भूषण कुमारकी श्रीमती)ले ‘जिग्रा’लाई आफ्नो फिल्म ‘सावी’को कपी रहेको आरोप लगाइन् । र, फिल्म रिलिजपछि उनले इन्स्टाग्राममा खाली सिट भएको हलको फोटो सेअर गर्दै लेखेकी थिइन्, ‘आलिया आफैंले टिकट खरिद गरेर ‘फेक’ कलेक्सन घोषणा गरिन् ।’ दिव्याको यी दुई आरोपले बलिउड नै तरंगित बनेको छ ।

 


नेपोटिज्म, स्क्रिप्ट चोरी जस्ता विवादले फिल्मलाई ठूलो असर गरेको भारतीय मिडियाको विश्लेषण छ । यद्यपि, ‘जिग्रा’लाई एक्सन-थ्रिलर जनरामा नयाँ प्रयोग मानिएको छ । आलियाको अभिनय र ब्याकग्राउन्ड म्यूजिकको सबैभन्दा बढी प्रशंसा भएको छ । आफ्नो भाईलाई बचाउन दिदीले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । यो फिल्मको नेपालमा समेत दयनीय अवस्था छ ।

Most Visited News (monthly)