मिति : २०८१ कार्त्तिक २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/10/18

दशैंको फूलपातीबाट प्रदर्शनमा आएका दुई फरक जनराका फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले घरेलु बक्स अफिसमा सुनामी ल्याएका छन् । प्रदर्शनको दिनदेखि दुवै फिल्मको आक्रामक व्यापार यथावत् छ । सिंगल थिएटर होस् वा मल्टीप्लेक्स, जताततै दर्शकको भीड देखिन्छ । दशैं विदामा त टिकट व्यवस्थापन गर्नै हलहरुलाई सकस परेको थियो । दशैं सकिएपछि पनि दुवै फिल्मको क्रेज घटेको छैन । यी दुई फिल्मको व्यापारले फिल्म क्षेत्रमै उत्साह थपेको छ ।  

 

12 gau and chakka panja 5


बक्स अफिसमा टक्करको प्रतिस्पर्धा गरिरहेका ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’लाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘सुपरहिट’ घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइटमा हेर्ने हो भने दुवै फिल्ममा ‘सुपरहिट’ उल्लेख छ । क्यूएफएक्सले आफ्नो चेनमा भएको व्यापारको आधारमा स्वदेशी र विदेशी फिल्मलाई ‘हिट’, ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्दै आइरहेको छ ।

क्यूएफएक्स चेनमा मात्र होइन, देशका अधिकांश मल्टीप्लेक्सहरुमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले ठूलो व्यापार गरेका छन् । यी दुई फिल्मलाई उपलब्ध गराएका कुनै पनि सोज दर्शक अभावले दशैं विदा र त्यसपछिका कामकाजी दिनमा पनि ‘क्यान्सिल’ भएका छैनन् । हरेक सोजमा उच्च अकुपेन्सी देखिएको छ । यसपटक देशभरका हलमा यी दुई फिल्मले वास्तवमै दशैं ल्याइदिएका छन् । दशैं विदामा मात्र दुई फिल्मले समग्रमा १५ करोडमाथि जोडेका छन् ।

‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले दशैं विदाको ३/४ दिनमै लगानी उठाएर मुनाफा कमाउन थालिसकेका थिए । बिहीबारसम्म ‘छक्का पञ्जा ५’ले ११ करोड र ‘१२ गाउँ’ले ७ करोडमाथि व्यापार गरेको जानकारी प्राप्त छ । दुवै फिल्म लगभग साढे २ करोडको हाराहारीमा निर्माण भएका हुन् । एक करोड व्यापार हुँदा निर्मातालाई ४५ लाखसम्म सेयर आउँछ । यसअर्थ ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ यस वर्षको ‘सुपरहिट’ फिल्म बनिसकेका छन् ।

सोज संख्यामा ‘छक्का पञ्जा ५’लाई ‘१२ गाउँ’ले उछिन्यो

सफल फ्रेन्चाइज भएकाले ‘छक्का पञ्जा ५’लाई सुरुमा देशका अधिकांश मल्टीप्लेक्सहरुले फूलपातीका अन्य फिल्मभन्दा बढी सोज दिएका थिए । यसैले फिल्मको इनिसियल व्यापार पनि बढी भयो । तर, दशैं विदा सकिएसँगै ‘छक्का पञ्जा ५’ सोजमा खुम्चिन थालेको छ । र, ‘१२ गाउँ’ सोज संख्यामा अगाडि बढेको छ । बुधबारदेखि देशभर सबैभन्दा बढी सोज नै यही फिल्मको छ ।

क्यूएफएक्सले समेत ‘१२ गाउँ’लाई काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा ५’भन्दा बढी सोज उपलब्ध गराएको छ । शुक्रबारका लागि ‘छक्का पञ्जा ५’लाई २६ सोज दिँदा ‘१२ गाउँ’लाई ३३ सोज दिइएको छ । अकुपेन्सीको आधारमा क्यूएफएक्सले फिल्मको सोज थपघट गर्ने गर्छ । यसको अर्थ ‘१२ गाउँ’को अकुपेन्सी ‘छक्का पञ्जा ५’भन्दा बढी छ भन्ने प्रष्ट बुझिन्छ ।

क्यूएफएक्स चेनले मात्र होइन, काठमाडौंका बिग मुभिग, वान् सिनेमाज्, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, एफक्युब, धरानको फ्रेन्डस् सिनेमाज्, नेपालगञ्जको सिनेरोयल जस्ता मल्टीप्लेक्सहरुमा पनि ‘छक्का पञ्जा ५’भन्दा ‘१२ गाउँ’कै सोज बढी छ । र, अकुपेन्सी पनि । यसरी हेर्दा अब व्यापारमा ‘१२ गाउँ’ उकालो लाग्न सक्छ ।

कुनै बेला ‘छक्का पञ्जा’ ब्रान्डसँग भिड्नु भनेको बाघको मुखमा हात हाल्नुसरह मानिन्थ्यो । किनकि, यसको आफ्नै दर्शक छन् । जसले गर्दा यो सिरिजसँग भिड्ने आँट निर्माताले हत्तपत्त गर्दैन थिए । ‘छक्का पञ्जा ४’सँग भिड्दा अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ले हलमा घुँडा टेकेको इतिहास साक्षी छ । तर, यसपटक ‘१२ गाउँ’ले ‘छक्का पञ्जा’को साम्राज्य नै हल्लाएको छ ।

Most Visited News (monthly)