मिति : २०८१ कार्त्तिक ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’को रिलिजबारे प्रकाश भन्छन्, ‘मसँग लडी बस्ने इनर्जी भएन’

फिल्मीखबर, काठमाडौं, 2024/10/18

गायन करिअरको उचाइँमा रहेका प्रकाश सपूत फिल्म ‘परदेशी २’बाट हिरो बने । यो फिल्म सफल भएपछि उनलाई अफरको ओइरो लाग्यो । र, दोस्रो फिल्मको रुपमा उनले ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गरे, जुन यही कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेता विजय बरालको छोराको भूमिका निभाएका छन्, जो गन्धर्व समुदायका हुन् ।

 

Prakash Saput


यो फिल्ममा काम गर्न प्रकाशले एउटा सर्त राखेका थिए । आफ्नो निर्देशन र अभिनय रहने फिल्म ‘वसन्त’भन्दा अगाडि रिलिज गर्न नपाउने उनको सर्त थियो । त्यसलाई निर्माताले पनि स्वीकार गरे । तर, अब ‘वसन्त’भन्दा अगाडि नै फिल्म रिलिज हुँदैछ । यही कारण निर्मातासँग प्रकाश असन्तुष्ट छन् । बिहीबार ट्रेलर रिलिज कार्यक्रममा पनि उनी उपस्थित भएनन् । यद्यपि, उनले ट्रेलर भने फेसबुकमा सेअर गरेका छन् । तर, गीत र पोस्टर सेअर गरेका छैनन् ।

ट्रेलर रिलिज कार्यक्रममा प्रकाशसँग खटपटको विषयमा निर्माता विनोद पौडेलले स्पष्टीकरण दिएका थिए । ‘वसन्त’भन्दा अगाडि रिलिज नगर्ने सहमति भए पनि फिल्मको रिलिज मितिलाई लिएर प्रकाशसँग छलफल गरिएको उनको भनाई थियो । निर्माता पौडेलको यो अभिव्यक्तिपछि शुक्रबार साँझ प्रकाशले फेसबुक स्टाटसमार्फत् अरुको सपना, संघर्ष र ईमानमाथि बेइमानी र बदनामी गर्नेहरुसँग फेरि जोडिन नपरोस् भन्दै निर्माताप्रति घुमाउरो रुपमा कटाक्ष गरेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’का लागि कुनै सर्त नराखेको उनको स्पष्टीकरण छ । ‘मैले त उहाँहरुलाई आफ्नो समस्या राखेको थिएँ र सोच्ने समय दिएको थिएँ । सोचेरै सम्झौतामा स्पष्ट लेखिएको पनि छ,’ उनले अगाडि लेख्छन्, ‘फिल्म अचानक प्रदर्शन हुने भएपछि म सरप्राइज भएँ । मसँग लडी बस्ने इनर्जी भएन । मैले केही भन्न सकिनँ ।’ उनले यतिबेला आफू ‘वसन्त’को छायांकनमा रहेको प्रचारमा समय मिलाउन गाह्रो भएको पनि जनाएका छन् ।

भूमिकाको हिसाबले अरु कलाकारलाई जति ‘पूर्ण बहादुरको सारङ्गी’मा आफूलाई भारी अलि कम रहेको उनको भनाई छ । यद्यपि, फिल्मको कथा राम्रो रहेको उनी दाबी गर्छन् । विजय बराल, मुकुन भुषाल जस्ता जीवन्त कलाकारसँग काम गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

‘म यो कथा र आफ्नो पात्र ‘कमले’लाई लिएर एकदमै उत्साहित छु र कामना गर्छु ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो कथाहरुसँग जोडिन पाइरहुँ । ‘कमले’ जस्तो सामान्य पात्र भएर ‘बा’को सपना बाँच्न पाइरहुँ,’ उनी अन्तिममा लेख्छन्, ‘अब सकारात्मक ढंगले ‘पूर्ण बहादुरको सारङ्गी’को प्रमोशन गरिनेछ । सबैको मनमा मीठो धुन बजाइनेछ ।’

 

Most Visited News (monthly)