मिति : २०८१ कार्त्तिक ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अबको फिल्म क्षेत्र हाँक्ने अनुहार हुन् समीर ?

फिल्मीखबर, काठमाडौं, 2024/10/20

भनिन्छ, ‘हरेक १० वर्षमा फिल्म क्षेत्रले नयाँ अनुहार खोज्छ ।’ नेपाली फिल्म क्षेत्रमा यो देखिएको पनि छ । राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठको उदय भएको लगभग १० वर्षपछि निखिल उप्रेती, विराज भट्ट जस्ता एक्सन नायक जन्मिए । त्यसको १० वर्षपछि राजबल्लभ कोइराला, आर्यन सिग्देल, जीवन लुइँटेलको उदय भयो । यो पुस्तापछि आएका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, अनमोल केसी, प्रदीप खड्काको करिअरले पनि १० वर्षको अवधि पूरा गरिसकेको छ ।

अब फिल्म क्षेत्र हाँक्ने अनुहार को हुन्छ भन्ने चासो बढिरहेको समयमा कुनै बेला एक्सन फिल्ममा निर्विकल्प मानिएका विराजका छोरा समीर भट्टको फिल्म ‘१२ गाउँ’बाट जबर्जस्त रुपमा उदय भएको छ । दशैंको फूलपाती (असोज २४ गते)बाट प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा सुनामी व्यापार गरिरहँदा समीरको चर्चा उत्कर्षमा छ । उनलाई अबको फिल्म क्षेत्र हाँक्ने नायकको रुपमा समेत चित्रण गर्न थालिएको छ ।

 

Samir Bhatta


‘१२ गाउँ’ यस वर्षको ‘ब्लकबस्टर’ फिल्म भैसकेको छ । फिल्म सफल हुनुमा समीरको क्रेज महत्त्वपूर्ण मानिएको छ । रिलिजपूर्व नै उनलाई लिएर दर्शकमा उत्साह देखिएको थियो । फिल्म रिलिजपछि पनि त्यो उत्साह बरकरार रह्यो । उनलाई हेर्नकै लागि हलमा पुग्ने युवापुस्ताको ताँती ठूलो देखिएको छ । र, उनको एक्सन, भ्वाइस, नृत्य र सिक्स प्याक शरीरलाई दर्शकले रुचाएका छन् ।

पहिलो फिल्म नै ‘ब्लकबस्टर’ भएकाले सम्भवतः अब समीरले केही वर्ष करिअर फर्केर हेर्नुपर्ने अवस्था नआउन सक्छ । उनको माग चुलिन थालिसकेको छ । त्यसो त समीरको पहिलो फोटो बाहिरिएदेखि नै धेरै मेकरहरु उनलाई लिएर फिल्म बनाउन इच्छुक देखिएका थिए । कतिपय भने ‘१२ गाउँ’को व्यापारिक नतिजा र समीरको काम हेरेपछि मात्र निर्णय लिने सोचमा थिए । अब उनलाई लिएर फिल्म बनाउन मेकरहरुलाई समस्या देखिँदैन ।

पहिलो फिल्मबाटै समीरले विधागत रुपमा आफ्नो कित्ताकाँट गरिसकेका छन् । पिताले झैँ उनले एक्सन बाटो नै रोजेका छन् । र, ‘१२ गाउँ’बाट दर्शकले उनलाई ‘एक्सन नायक’को रुपमा अनुमोदन पनि गरिसकेका छन् । करिब एक दशकदेखि एक्सन फिल्म र एक्सन हिरोको अभावलाई अब समीरले केही हदसम्म परिपूर्ति गर्न सक्ने देखिन्छ । उनको आगमनले अब एक्सन फिल्मको लहर आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । यसैले समीरलाई लिएर फिल्म क्षेत्रले ठूलो अपेक्षा राखेको छ ।

‘१२ गाउँ’मा काम गर्नुभन्दा अगाडि नै समीरले निर्देशक तथा निर्माता सन्तोष सेनको फिल्म ‘बलिदान’ सम्झौता गरेका थिए । पहिला यही फिल्मलाई रिलिज गर्ने तयारी थियो । तर, निर्माणमा ढिलाई हुँदा ‘१२ गाउँ’बाट समीरको डेब्यु भयो । यो फिल्मको सफलताले ‘बलिदान’लाई पनि ठूलो फाइदा पुग्ने निश्चित छ । अब ‘बलिदान’ पनि सफल भएको खण्डमा समीरको युग सुरु हुनसक्छ ।

Most Visited News (monthly)