राजनीति र फिल्म क्षेत्रमा दोस्ती र दुश्मनी दिगो हुँदैन भनिन्छ । घाँटी जोडेर हिँडेकाहरु क्षणभरमै दश्मन बनेका र वर्षौंदेखि पानी बाराबारको सम्बन्ध रहेकाहरु घनिष्ट मित्र बनेका कयौं उदाहरण छन् । अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको सम्बन्ध हेर्दा पनि यो छर्लङ्ग हुन्छ । कुनै बेला एकअर्काको नाम समेत सुन्न नचाहने उनीहरु यतिबेला गाला जोडेर टिकटक बनाउन थालेका छन् ।
आइतबार ‘सुष्मा कार्की २०२३’ नामक टिकटक आइडीमा एउटा भिडियो अपलोड छ, जसमा सुष्माले पूजालाई अंकमाल गर्दै हिन्दी गीत ‘हुआ मुझे भी प्यार हुआ’मा टिकटक बनाएकी छन् । र, क्याप्सनमा ‘स्वीटहार्ट’ लेखिएको छ । दुवै एकअर्कासँग एकदमै सहज देखिएका छन् । भिडियोको पृष्ठभूमिमा पूजाको स्केच देखिन्छ, जुन उनको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्टको हो । अर्थात् सुष्माले पूजाको रेस्टुरेन्टमै पुगेर टिकटक बनाएकी हुन् । उनीहरुको यो भेट हालसालकै देखिन्छ ।
सुष्माले अपलोड गरेको भिडियोलाई २४ घण्टा पनि नवित्दै साढे ६ बढीले हेरिसकेका छन् भने एक हजार हाराहारी कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले उनीहरुको मिलनलाई लिएर आश्चर्य प्रकट गरेका छन् । कतिले अब रमाइलो नहुने भयो भन्दै व्यंग्य गरेका छन् भने कतिले पश्चिमबाट घाम झुल्कियो भनेका छन् । पूजा र सुष्माको मिलनमा खुसी हुनेहरु पनि धेरै देखिएका छन् । उनीहरुको यस किसिमको मिलनले दर्शकहरुलाई राम्रै ‘सरप्राइज’ दिएको छ ।
पूजा र सुष्माको दुश्मनी लामो समय चल्यो । लगभग एक दशक । निर्देशक सुदर्शन थापाको क्याम्पबाट सुष्मा ‘आउट’ र पूजा ‘इन’ भएपछि उनीहरुको दुश्मनी सुरु भएको बताइन्छ । विशेषगरी सुष्माले पूजाविरुद्ध आगो ओकल्दै आइरहेकी थिइन् । यस्तो लाग्थ्यो, उनको काम नै पूजालाई उडाउनु र उनको कमजोरी औंल्याउनु हो । पूजाले पनि सुष्माप्रति कटाक्ष गर्न कुनै कसर छाडेकी थिइनन् । फिल्म क्षेत्रका सबैभन्दा ठूला दुश्मन नै उनीहरु देखिन्थे । अहिले सबैभन्दा बढी मिल्ने नै उनीहरु देखिँदैछन् ।
पूजा र सुष्माको मिलन फिल्म ‘उपहार’ले गराएको हो । र, यसको श्रेय अभिनेत्री रेखा थापालाई जान्छ । उनीहरुको मिलनकै लागि फिल्ममा सुष्मालाई प्रवेश गराइएको थियो । फिल्मको एक/दुईवटा सिनमा पूजा र सुष्मालाई एकसाथ देख्न सकिन्छ । यहीँबाट उनीहरु एकअर्कासँग नजिक बनेका हुन् । फिल्मको छायांकन सकिँदासम्म उनीहरु यो हदसम्म निकट भइसकेका थिए कि सुष्मा अष्ट्रेलियामा हुँदा पूजासँग उनको घन्टौंसम्म म्यासेन्जरमा भिडियो कल हुन्थ्यो ।
‘उपहार’ रिलिज हुँदा सुष्मा अष्ट्रेलियामा थिइन् । उनी दशैं मान्न नेपाल आएकी हुन् । र, यही मेसोमा उनी पूजालाई भेट गर्न उनकै रेस्टुरेन्ट पुगेकी हुन् । पूजा र सुष्मा एकअर्कासँग घनिष्ट हुनुमा ‘राणयण’ रिलिजपछि पूजाको निर्देशक सुदर्शन थापासँग सम्बन्ध चिसिनुलाई पनि मानिएको छ । जे भए पनि कुनै बेला दुश्मनीले चर्चामा रहेका पूजा र सुष्माको अब दोस्तीको चर्चा हुने देखिन्छ ।
@sushmaranakarki20 #foryou #fypシ゚viral #sweetheart♥️ pooja#🇦🇺🇳🇵 ♬ original sound - .