मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साइबर सेना’को कमान्डरको रुपमा चित्रित गरेपछि सन्तोष भन्छन्, ‘म जेल जान तयार छु’

फिल्मीखबर, काठमाडौं, 2024/10/23

घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेका दशैंका दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’का निर्माताबीच शितयुद्ध जारी छ । रिलिजपूर्व ‘छक्का पञ्जा ५’का हरेक प्रचार सामाग्रीमा ‘१२ गाउँ’को मात्र नाम आएपछि कलाकार दीपकराज गिरीले त्यसलाई ‘साइबर सेना’को संज्ञा दिएका थिए । उनको यो अभिव्यक्तिबाट चिढिएका अभिनेता विराज भट्टले फिल्मको व्यापार बम्पर भएपछि ‘साइबर सेना’ भन्नेहरुलाई हलमा आएर हेर्न चुनौती नै दिए ।

‘साइबर सेना’को विषय सेलाउने अझै छाँटकाँट देखिएको छैन । हालै एपीवान टिभीबाट प्रशारित ‘द प्रकाश सुवेदी शो’मा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीको प्रश्न र अतिथि बनेर पुगेका कलाकार दीपकराज गिरीको अभिव्यक्तिले यो प्रकरणमा घ्यूँ थप्ने काम गरेको छ । त्यहाँ ‘कुन रुपमा चिन्नुहुन्छ ?’ भन्ने सेक्सनमा निर्माता सन्तोष सेनको तस्वीर देखाइएको थियो । र, दीपकराजले सेनलाई साहसी निर्माताको रुपमा ब्याख्या गर्दै उनले गर्ने फिल्म प्रचार शैलीको खुलेरै प्रशंसा गरे ।

दीपकराजको कुरा टुंगिन नपाउँदै पत्रकार सुवेदीले सोधिहाले, ‘अहिले त उहाँलाई कमान्डर पनि भन्दा रहेछन् नि, हो ?’ कमान्डर भनेर उनले ‘साइबर सेना’तर्फ इंकित गरेको प्रष्ट बुझिन्छ । अर्थात् दीपकराज समूहमाथि भएको साइबर आक्रमणको योजनाकार सन्तोष हुन् भन्ने बजारको हल्लाप्रति उनको संकेत थियो । र, जवाफमा दीपकराजले पनि आफूले त्यही सुनेको प्रतिक्रिया दिए ।

 

Santosh Sen


दीपकले भने, ‘उहाँ कमान्डर हो भन्ने कुरा मैले पनि सुनेको छु । ठीक छ, कमान्डिङ राम्रो छ । त्यो सकारात्मक कमान्डिङ रहोस् ।’ पत्रकार सुवेदीले फेरि सोधिहाल्ने, ‘तपाईंले अहिले जति गाली खाइरहनु भएको छ, त्यसमा सबैभन्दा ठूलो हात उहाँको हो ?’ दीपकराजले यसलाई नकार्न सकेनन् । आफूले त्यही सुनिरहेको जवाफ फर्काउँदै उनले करिअरको यो क्षणमा आएर कसैले आफूमाथि प्रहार गरेको हो भनेर दाबी गर्न नैतिकताले नदिए बताए ।

उनी भन्छन्, ‘मेरो कानमा चाहिँ आएको छ । तँविरुद्ध क्याम्पेनिङ गर्‍यो भन्छन् । तर, म सुनेको भरमा दौडिन्नँ । यदि हो भने पनि ठीक छ नि । मैले केही गर्न सक्दिनँ । तर, म होइन भन्छु । मलाई ‘छक्का पञ्जा ४’मा उहाँले एकदमै नैतिक बल दिनुभएको थियो ।’ दीपकराजले ‘बलिदान’बाट आफूलाई प्रस्ताव गरिएको पनि खुलासा गरे । तर, एक्सन फिल्म गर्न आँट नआएको उनले बताए ।

उक्त अन्तर्वार्तामा आफूलाई ‘साइबर सेना’को कमान्डरको रुपमा चित्रित गरेपछि निर्माता सेन आक्रोशित भएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा २५ मिनेट लामो भिडियो सेअर गर्दै बिना प्रमाण लाल्छना नलगाउन चेतावनी दिएका छन् । आफूबाट यो काम भएको रहेछ भने जेल जान तयार रहेको उनको भनाई छ ।

उनले भनेका छन्, ‘जसले उहाँहरुलाई भनेको हो, उसलाई कारबाही त गर्नुपर्छ । प्रकाश दाईलाई कसले भनेको हो त्यो मान्छे पनि ल्याउनुपर्‍यो अनि दीपक दाईले पनि मैले सुनेको हो भन्नुभएको छ । उहाँलाई सुनाउने मान्छे पनि ल्याउनुपर्‍यो । मान्छेलाई त्यतिकै लाल्छना लगाउन त मिल्दैन नि । यदि मैले गरेको हो भने मलाई थुन्नुपर्‍यो । गाली गर्ने समूह बनाएर मान्छेलाई डिप्रेसनमा पार्न सुहाउँछ मलाई ? त्यो हो भने मलाई थुन्नुपर्छ । मलाई जेल हाल्नुपर्छ । म जेल जान तयार छु ।’

‘१२ गाउँ’ हेर्न हलमा उर्लिएका दर्शकलाई ‘साइबर सेना’ र ‘साइबर स्याल’ भनेर अपराधी करार गरिएको सेनको तर्क छ । भन्छन्, ‘प्रकाश दाई र दीपक दाईले कोबाट सुन्नुभएको हो, त्यसलाई उभ्याउनुपर्‍यो । उसलाई उभ्याएपछि जरासम्म त पुगिन्छ नि । अहिलेको डिजिटलको समयमा कहाँबाट परिचालन भएको हो, सबै थाहा हुन्छ । उहाँहरुले त दर्शकलाई अपराधी बनाउनुभयो ।’

उनले भिडियोमा दीपकराज गिरीप्रति कटाक्ष समेत गरेका छन् । कसैले २० करोड कमाउँदैमा इन्डस्ट्री नधानिने उनको तर्क छ । ‘दीपकराज गिरीले इन्डस्ट्री धानेको भन्ने मनगढन्ते कुरा गरिएको छ । एउटाले २० करोड कमाउँदैमा इन्डस्ट्री धानिँदैन । फिल्म रिलिज भएपछि उल्टै प्राविधिक, सर्भरलाई पैसा तिर्नेको पनि उतिक्कै भूमिका छ,’ उनी भन्छन्, ‘तपाईं (दीपकराज गिरी)ले ८ वटा फिल्मबाट एक अर्ब कमाउनुभएछ । बधाई छ । तर, कमाइअनुसार तपाईंले धेरै गर्न सक्नुहुन्थ्यो । प्रतिभाशाली कलाकार लिएर ठूलो क्यानभासमा फिल्म बनाएर नेटफ्लिक्समा रिलिज होस् भन्ने चाहना राख्नुपर्थ्यो । अनि नेपाली फिल्म क्षेत्र अगाडि बढ्थ्यो । हामी खाली अंकगणितमा सीमित छौं । अंकगणितले व्यक्तिगत रुपमा फाइदा होला तर इन्डस्ट्रीलाई हुँदैन ।’

‘१२ गाउँ’बाट उदाएका अभिनेता समीर भट्ट आफ्नो हिरो भएकाले बढी सपोर्ट गरेको उनी निर्धक्क स्वीकार गर्छन् । तर, ‘छक्का पञ्जा ५’ पनि चल्नुपर्छ भन्ने आफूले चाहेको सेनले बताएका छन् । ‘छक्का पञ्जा ४’को बेलामा पनि आफूले धेरै सहयोग गरेको उनले स्मरण गरे । उनलाई समीरको उदय भएकोमा फिल्म क्षेत्रका व्यक्तिहरु खुसी छैनन् भन्ने लाग्छ । तर, अब विश्वमा नेपाली फिल्मलाई चिनाउने एक मात्र कलाकार समीर रहेको उनको दाबी छ ।

 

Most Visited News (monthly)