मिति : २०८१ कार्त्तिक ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो संसार’को दोस्रो प्रिमियर : मदनकृष्ण भन्छन्, ‘मलाई त हेर्नै पुगेन’

फिल्मीखबर, काठमाडौं, 2024/10/24

फिल्म ‘सानो संसार’ गत असोज ११ गते प्रदर्शनमा आएको थियो । तर, प्रदर्शनको दिनदेखि परेको निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि निर्माताले दुई दिनमै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका थिए । अब भोलि शुक्रबार (कात्तिक ९ गते)बाट फिल्मलाई पुनः प्रदर्शन गरिँदैछ । पहिलो प्रदर्शनको बेला गरिएको प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया पाएको थियो । बुधबार फिल्मको दोस्रो प्रिमियर गरियो, जहाँ प्रशंसाको वर्षा नै भयो ।

 

sano sansar movie


अस्वस्थताका बावजूद प्रिमियरमा पुगेका कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको कथा र कलाकारहरुको अभिनय एकदमै स्वभाविक रहेको बताए । उनले भने, ‘मलाई हेर्नै पुगेन फिल्म । हेरिरहुँ जस्तो, बसिरहुँ जस्तो भइरह्यो । अभावको जिन्दगी विताइरहेको परिवारको कथालाई स्वभाविक रुपमा देखाइएको छ । हरेक कलाकारको अभिनय पनि स्वभाविक छ ।’

कलाकार हरिवंश आचार्यले कलाकारको अभिनयदेखि छायांकन पक्षको प्रशंसामा शब्द खर्चिए । ‘फिल्मले आमा-बुबाप्रतिको दायित्व र कर्तव्यलाई एकदमै राम्रोसँग देखाएको छ । निर्देशक र छायांकन फिल्मको राम्रो पक्ष हो । लामा-लामा सटहरु साह्रै मज्जासँग लिइएको छ,’ उनले भने, ‘कलाकारहरुको अभिनय त कसको राम्रो भनेर छुट्याउनै सकिँदैन । हरेकको एकसेएक छ ।’

निर्देशक तुलसी घिमिरे ‘सानो संसार’लाई ‘परफेक्ट’ पारिवारिक फिल्म मान्छन् । ‘धेरैपछि ‘परफेक्ट’ पारिवारिक फिल्म हेर्न पाएँ । यो फिल्मबाट हामीले धेरै कुरा सिक्नुपर्छ । नेचुरल अभिनय भनेको के हो त्यो यसमा देखिन्छ । क्यामेरा वर्क एकदमै राम्रो छ । निर्देशन पक्ष सबल छ । यो फिल्म मैले सोचेकोभन्दा धेरै माथि छ । नहेरेको भए राम्रो चीज छुट्ने रहेछ,’ उनले भने ।

प्रिमियरमा सहभागी भएकी अभिनेत्री सुरक्षा पन्तले भने फेसबुकमार्फत् फिल्मको प्रशंसा गरेकी छन् । कलाकारहरुको मेहेनत र निर्माताको सानो कथाप्रतिको सम्मान फिल्ममा मज्जाले देखिएको उनको भनाई छ । त्यस्तै, कलाकार केदार घिमिरे ‘सानो संसार’लाई नेपालको बजार सुहाउँदो फिल्म मान्छन् । फिल्म हेर्दा रमाइलो र मज्जा आएको उनको प्रतिक्रिया थियो । प्रिमियरमा पुगेका अन्य सेलिब्रेटीहरुले पनि फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

 

arjun kumar


फिल्मका निर्माता अर्जुन कुमार प्रिमियरमा प्राप्त प्रतिक्रियाले प्रफुलित देखिएका थिए । तर, मल्टीप्लेक्सहरुमा कम शो पाएकोमा उनले असन्तुष्टि व्यक्त गरे । उनले सञ्चारकर्मीसँग भने, ‘त्यो फेयर भएन । शो नै नपाएपछि दर्शक कहाँ आउँछन् अनि कहाँ हेर्छन् ? कमसेकम हरेक हलले एक/एक शो भए पनि दिन आग्रह गर्छु । बरु मान्छे आएन भने हटाउनुस् तर सुरुमा शो त दिनुस् ।’

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ । यी सबै कलाकारको यो पहिलो फिल्म हो । फिल्मको कार्यकारी निर्माता माधव वाग्ले हुन् । फिल्मले मध्यमवर्गीय परिवारको कथा भन्छ ।

Most Visited News (monthly)