मिति : २०८१ कार्त्तिक ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा दुई अभिनेत्रीको लफडा, भएको के हो ?

फिल्मीखबर, काठमाडौं, 2024/10/24

नेपालमा कट्टर दुश्मन मानिएका अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको मिलन मिडियामा चर्चाको विषय बनिरहँदा अमेरिकामा दुई अभिनेत्री रञ्जना शर्मा र रुपा उपाध्यायबीचको लफडाले सामाजिक सञ्जाल तताएको छ । रुपाले आफ्नो घरबाट रञ्जनालाई निकालेको भिडियो फेसबुकमा सेअर गरेपछि उनीहरुबीचको विवाद छताछुल्ल भएको हो । यो दशैंपछिको घटना हो ।

रुपाले फेसबुकमा सेअर गरेर पछि डिलिट गरेको साढे ४ मिनेट लामो भिडियोमा उनले रञ्जनाको कपडादेखि सुटकेससम्म घरबाट मिल्काएको देख्न सकिन्छ । र, रञ्जनाले एक युवकसँग मिलेर छरपस्ट सामनाहरु संगालेर गाडीमा हालिरहेकी छन् । रञ्जना र रुपाबीच ठूलै चर्काचर्की परेको छ । तुच्छ गालीगलौज गर्दै एकअर्काको चरित्रमाथि समेत प्रश्न उठाएका छन् ।

 

Ranjana sharma and Rupa Upadhyay


रुपाले बनाएको भिडियोमा रञ्जनाले घरको भर्‍याङ र सडकमा असरल्ल सामान स्याहार्दै भनेकी छन्, ‘अब भेट्दा तेरो अन्तिम अवस्था होस् ।’ उनले यति भनेपछि रुपा झन् रिसले आगो हुँदै घरबाटै उनको सामान मिल्काइदिएकी छन् । रञ्जनाको सामान घरबाट फ्याक्नुभन्दा अगाडि रुपाले अर्को एउटा भिडियो पनि बनाएकी छन्, जहाँ रञ्जना घरभित्र बच्चा लिएर सोफामा बसेकी छन् भने रुपाले ३० मिनेटमा आफ्नो घरबाट निस्केर जान चेतावनी दिएकी छन् ।

यी दुईवटै भिडियो रुपाले फेसबुकबाट हटाइसकेकी छन् । तर, उनले हटाए पनि भिडियो फेसबुक तथा टिकटकमा छ्यापछ्याप्ती बनेको छ । प्राप्त जानकारी अनुसार रञ्जनाले रुपालाई दिदी मान्ने गरेकी थिइन् । यसैले उनी केही दिन बस्ने गरी दशैं मान्न रुपाको अमेरिकास्थित बोस्टनमा रहेको घर गएकी थिइन् । त्यही बेला उनीहरुबीच बच्चाको विषयलाई लिएर विवाद भएको बताइन्छ ।

रञ्जनासँग परेको झगडाको भिडियोलाई लिएर रुपाले स्पष्टीकरण समेत दिएकी छन् । बुधबार फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘मेरोमा आएको गेस्टले मलाई नानाथरी भनेर गाली गर्न थाल्यो । त्यसपछि मैले यस्तो त राम्रो होइन, तिमी आफ्नो बाटो लाग भनेँ । उसले उल्टै तलाइँ तेरै घरबाट निकाल्छु भन्यो । मान्छे पठाएर मार्न लगाउँछु समेत भन्यो । त्यस्तो भन्ने मान्छेलाई घरमा राख्नु त भएन नि !’ रञ्जनाले आफ्नो शरीरमा घाउ बनाइदिइएको समेत उनको आरोप छ ।

रञ्जना र रुपा दशकअघिका स्थापित अभिनेत्रीहरु हुन् । रञ्जनाले ‘ध्रुव तारा’, ‘सञ्जीवनी’, ‘मौसम’, ‘इज्जतदार’, ‘सलाम छ मायालाई’ लगायत आधा दर्जन बढी फिल्ममा काम गरेकी छन् भने रुपाले ‘को होला मेरो मायालु’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनीहरु दुवै एक दशकदेखि अमेरिकामा बस्दै आइरहेका छन् ।

नोट : भिडियोमा तुच्छ शब्दमा गालीगलौज गरिएको छ । यसैले भिडियो प्रकाशन गर्न असमर्थ भएका छौं ।

 

Most Visited News (monthly)