मिति : २०८१ कार्त्तिक १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बिके’को छवि ‘पूर्ण बहादुरको सारङ्गी’ले ब्रेक गर्छ : विजय बराल

फिल्मीखबर, काठमाडौं, 2024/10/27

सहायक भूमिकामा रुचाइएका कलाकार हुन्, विजय बराल । ‘कबड्डी’मा निभाएको ‘बिके’ चरित्रले उनलाई कलाकारितामा स्थापित गरेको थियो । यसपछि उनी ‘बिके’कै शैलीको चरित्रमा बढी देखिए । तर, यही कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा उनले भूइँमान्छेको चरित्र बाँचेका छन् । अर्थात् गन्धर्वको भूमिकामा छन् । यसमा उनलाई तन्नेरी र बुढ्यौली दुई अवस्थामा देख्न सकिन्छ । टिजर र ट्रेलरमा उनको अभिनय मर्मस्पर्शी छ ।

विजयलाई ‘सारङ्गी’ले ‘बिके’को रुपमा बनेको आफ्नो छवि (इमेज) ब्रेक गर्छ भन्ने विश्वास छ । आइतबार काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अब फरक चरित्रमा काम गर्न पाइन्छ भन्ने लागेको छ । तर, मलाई ‘बिके’ चरित्रले नै स्थापित गरेको हो । ‘बिके’ भएर ‘कबड्डी’का चार श्रृंखलामा काम गरेकै ८ वर्ष भएछ । लामो यात्रा गरेपछि एउटा ‘इमेज’ बन्ने रहेछ । त्यसलाई ‘पूर्ण बहादुरको सारङ्गी’ले ब्रेक गर्छ भन्ने विश्वास छ ।’

झन्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेका विजय सहायक भूमिकाबाट माथि उठ्नै सकेका थिएनन् । ‘पूर्ण बहादुरको सारङ्गी’ भने उनकै काँधमा छ । अर्थात् उनी नै फिल्मको हिरो हुन् । फिल्मको मूल कथा उनीमै केन्द्रित छ । यसैले फिल्मबाट प्रस्ताव आउँदा उनले दुई साता निर्णय नै दिन सकेका थिएनन् । लिड रोल भएकै कारण उनलाई एक किसिमको डर लागेको रहेछ ।

‘कथा सुनेपछि त मैले दुई हप्ता होल्ड नै गरेँ । लिड भनेर आउने वितिक्कै मलाई एक किसिमको डर भयो । साइडमा बसेर काम गर्न जति सहज हुन्छ, फ्रन्टलाइनमा बसेर गर्दा फरक हुन्छ । यसमा रिक्स र फाइदा दुवै छ,’ विजय भन्छन्, ‘दुई हप्ता होल्ड गरेपछि मैले आफैंलाई आँट दिलाएँ । त्यसपछि काम गर्न तयार भएको थिएँ ।’

 

bijay baral


मुख्य भूमिकाबाट प्रस्ताव आउँदा उनले व्यावसायिक पक्षलाई पनि सोचेका रहेछन् । कम्तीमा निर्माता सुरक्षित हुनुपर्छ भन्ने उनलाई लागेको थियो । भन्छन्, ‘अरु फिल्म गर्दा अभिनय गर्ने मात्र मेरो काम हो भन्ने हुन्थ्यो । तर, यसमा योबाहेक निर्माताले मलाई विश्वास गर्नुभएको छ, यसबाट उहाँहरुलाई राम्रो भयो भने अर्कोचोटी सहज हुन्छ भन्ने कुरा चाहिँ मेरो दिमागमा २५ प्रतिशत आएकै हो । ७५ प्रतिशत चाहिँ त्यो चरित्रमा कति न्याय गर्न सकिन्छ भनेर घोत्लिएको थिएँ ।’

बलिउडमा हेर्ने हो भने सहायक भूमिकाबाट उदाएका धेरै कलाकारहरु मुख्य भूमिकामा देखिरहेका छन् । तर, नेपालमा यो अभ्यास कमै भएको छ । विजयलाई लाग्छ, यसमा मेकरले ‘रिक्स’ लिनुपर्छ । ‘मेकरहरुले एउटा सोचले हेरिरहनुभएको हुन्छ । दर्शकले पनि जसरी हेरिरहनुभएको हुन्छ, त्यही होस् भन्ने चाहनुहुन्छ । तर, मेकरले ‘रिक्स’ लिन सक्नु पर्छ । कलाकारले त जस्तो चरित्र दिए पनि गरिहाल्छन् । पहिला मेकरले ‘रिक्स’ लिनुपर्‍यो,’ उनी सुनिए ।

मेकरलाई विश्वास दिलाउने काम कलाकारको पनि हो भन्ने विजयलाई लाग्छ । भन्छन्, ‘मेकरलाई विश्वास दिलाउने काम हाम्रो पनि हो । ‘दिमाग खराब’मा मैले गरेको ‘बले’ चरित्र पहिला के होला भन्ने थियो । गरिसकेपछि यसले गर्न सक्छ भन्ने भयो । यसैले हामीले पनि विश्वास दिलाउन सक्नुपर्छ । यद्यपि, साइड रोल गरिरहेका कलाकारहरु फ्रन्टलाइनमा आएर काम गर्न सक्ने धेरै छन् ।’

विजयले ‘पूर्ण बहादुरको सारङ्गी’मा निभाएको चरित्र आफ्नो लागि एउटा राम्रो अवसर मानेका छन् । चरित्रले कथाको सार बोक्नुपर्छ भन्ने मान्यता राख्ने उनले यसमा त्यो पाएका छन् । ‘फिल्ममा निभाएको चरित्रलाई लिएर उत्साहित छु । चरित्रले कथाको सार बोक्नुपर्छ भन्ने लाग्छ । यो कथाको सारभित्र बसिरहँदा चाहिँ पुस्तान्तरणसहितको रुपान्तरण हो यो फिल्म भन्ने लाग्छ,’ उनी कथासार प्रस्ट्याउँदै भन्छन्, ‘एउटा बाबुले छोराका लागि देखेको सपनाको कथा हो यो ।’

विजयले चरित्र निर्माणका लागि सारङ्गी पनि सिकेका थिए । १० दिन शरीरको बस्ने पोजिसन, सारङ्गी बोक्ने शैली र हातको चाल सिकेको उनले स्मरण गरे । सारङ्गी सिक्दा र गन्धर्वको चरित्र बाँच्दा उनले महसुस गरेका थिए, ‘गन्धर्वको जीवन कष्टकर नै छ ।’ फिल्ममा आफूले निभाएको चरित्रलाई पनि दुःखी मान्छन् उनी । भन्छन्, ‘दुःखी चरित्र भए पनि अगाडि बढ्नुपर्छ भन्ने सोच भएको पिता हुँ । बाउभित्रको द्वन्द्वात्मक चरित्र हो मेरो ।’

Most Visited News (monthly)