मिति : २०८१ कार्त्तिक १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’ जुम्लाको स्याउ हो : निर्देशक पौडेल

फिल्मीखबर, काठमाडौं, 2024/10/28

saroj paudel

 

यही कात्तिक १५ गते अर्थात् तिहारको लक्ष्मीपूजाबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको तयारीमा छ । सारङ्गी बजाएर परिवारको जीविकोपार्जन गर्ने एक बाबुले छोराका लागि गरेको त्याग र देखेको सपनामा फिल्मको कथावस्तु केन्द्रित छ । टिजर र ट्रेलर हेर्दा फिल्मको कथा मौलिक लाग्छ । यसैले निर्देशक सरोज पौडेल फिल्मलाई जुम्लाको स्याउको रुपमा अर्थ्याउँछन् ।

आइतबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘यो विशुद्ध पारिवारिक फिल्म हो । एउटा बाबुले सन्तानका लागि देखेको सपना र गरेको संघर्षमा फिल्म आधारित छ । फिल्मले दर्शकको चित्त बुझाउँछ भन्नेमा पूर्ण विश्वास छ । स्याउको ठूलो बजारमा यसपालिको दशैंमा जुम्लाको स्याउको विशेष महत्त्व रह्यो । हामीले पनि फिल्मको मार्केटमा जुम्लाको स्याउको रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई सोचेका छौं ।’

निर्देशक पौडेल फिल्ममा सारङ्गीलाई पात्रको रुपमा खडा गरिएको बताउँछन् । गन्धर्व समुदायको कथामा फिल्म बनेकाले नाममा पनि सारङ्गी राखेको उनको भनाई छ । भन्छन्, ‘फिल्मको कथा सारङ्गीसँग जोडिएको छ । र, सारङ्गी पनि एउटा पात्रको रुपमा उभिएको छ । सारङ्गी हामी नेपालीका लागि प्रिय बाजा हो । त्यसैको साहरामा गुजरा चलाउने गन्धर्व परिवारको कथा यसमा छ । गन्धर्व भन्ने वितिक्कै सारङ्गी जोडिन्छ । यसैले नाममा पनि सारङ्गी राखेका हौं ।’

निर्देशक पौडेललाई फिल्मको कथा बुबाको निधनपछि फुरेको रहेछ । लकडाउन सकिएको एक महिनापछि उनको बुबाको निधन भएको थियो । काजकिरिया सकेर घर फर्किएपछि उनले बुबाबिनाको जुन अनुभव गरे, त्यसपछि उनले सन्तानका लागि बुबाले कस्ता सपना देख्छन् भन्ने कथामा फिल्म बनाउने सोच बनाए । ‘हाम्रो बुबा आर्थिक रुपमा ठीकै हुनुहुन्थ्यो होला । तर, ‘ग्राउन्ड लेभल’का बुबाहरुले पनि त सन्तानका लागि विभिन्न सपना देखेका हुन्छन् । तिनै कुरा सोच्दै जाँदा एउटा चीज फुर्‍यो र त्यसलाई अझ ‘ग्राउन्ड लेभल’मा भएका बुबाहरु सोच्दै जाँदा पूर्णबहादुरको कथा आयो, जसले सारङ्गी रेटेर जीविका चलाउँछ । र, सन्तानका लागि सपना देखेको छ,’ उनी सुनिए ।

उनी ‘पूर्ण बहादुरको सारङ्गी’लाई बुबाहरुको मात्र कथा भने मान्दैनन् । ‘यो बुबाहरुको मात्र कथा होइन । आमा, दिदीहरुले पनि बुबाको भूमिका निभाइरहनुभएको हुन्छ । समग्रमा अभिभावकको कथा हो यो,’ उनी भन्छन्, ‘आमाको बारेमा धेरै चीजहरु आइरहेको हुन्छ । बुबाको बारेमा धेरै कथा भनिएको छैन । यसैले बुबाको बारेमा पनि कथा भन्नुपर्छ भन्ने सोचले फिल्म बनाएका हौं ।’ निर्देशक पौडेलले फिल्मको सबैभन्दा सशक्त पक्ष ‘इमोसन’लाई मानेका छन् ।

Most Visited News (monthly)