बलियो ‘स्टारकास्ट’ लिएर फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ । सोमबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेपछि निर्माण टिम छायांकनमा निस्किएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकारहरु केदार घिमिरे (माग्ने बुढा), विपना थापा, अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ लगायतको उपस्थिति थियो । मुहूर्तअघि बगलामुखी मन्दिरमा फिल्मका कलाकारहरु विशेष पूजाआजामा सहभागी भएका थिए ।
धुलिखेलबाट सुरु भएको छायांकन त्यहाँ तीन दिन चल्ने निर्माता सरोज न्यौपानेले जानकारी दिए । त्यसपछि काठमाडौंमा छायांकन गरेर लुक्ला प्रस्थान गरिने उनले बताए । भारतको लद्दाख (बलिउड फिल्म ‘थ्री इडियट्स’ खिचिएको ठाउँ)मा पनि फिल्मको छायांकन हुनेछ । ६० दिनको छायांकन सेड्युल राखिएको फिल्मको बजेट ३ करोड अनुमान गरिएको छ ।
मुहूर्तमा अनमोलले फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको जानकारी दिए । पहिलो पटक केदार घिमिरेसँग सहकार्य गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे । ‘छक्का पञ्जाको हरेक श्रृंखलामा केदार दाईको इन्ट्री हुँदा ताली बजाउनेमा म पनि पर्छु । म उहाँको फ्यान हुँ । उहाँको ऊर्जाबाट पनि म प्रभावित छु ।’ त्यस्तै, केदारले ‘जेरी अन टप’मा जोडिन पाउँदा खुसी लागेको बताए ।
सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतको पनि अभिनय रहनेछ । यसमा भुवन र विपनाले अनमोलको बुबा-आमाको भूमिका निर्वाह गर्नेछन् । १८ वर्षपछि उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्मलाई आगामी फागुन २ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
फिल्मको कथा हेमराज बिसीको हो भने विश्व तिमिल्सेनाको पटकथा छ । उज्जवल जोशीको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । फिल्मको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले सघाएका छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माता छन् ।