मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केदारलाई अनमोलको ‘सुपरस्टार’ ट्याग

फिल्मीखबर, काठमाडौं, 2024/10/29

kedar ghimire and anmol kc

 

नेपाली फिल्म क्षेत्रमा कलाकारलाई विभिन्न ‘ट्याग’ दिने प्रचलन बढ्दो छ । ‘महानायक’, ‘मेगास्टार’, ‘सुपरस्टार’ जस्ता ट्यागबाट नेपाली कलाकारहरु सुशोभित भैसकेका छन् । केहीलाई दिइएको ‘ट्याग’ दर्शकले स्वीकार पनि गरेका छन् भने केहीलाई सीमित फिल्मकर्मीहरुले मात्र मान्ने गरेको देखिन्छ । कलाकारलाई दिइने ‘ट्याग’को औचित्यमाथि बेला बखतमा बहस पनि भैरहेको हुन्छ ।

अभिनेता अनमोल केसीलाई फिल्म ‘कृ’को बेलादेखि ‘मेगास्टार’ भन्न थालिएको थियो । तर, उनलाई दिइएको ‘ट्याग’लाई लिएर प्रश्न उठ्दै आइरहेका छन् । सोमबार फिल्म ‘जेरी अन टप’को मुहूर्तमा भने उनले हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)लाई ‘सुपरस्टार’को ट्याग दिए । उनले केदार घिमिरेलाई फिल्ममा स्वागत गर्दै ‘सुपरस्टार’ भनेर सम्बोधन गरेका थिए ।

तर, केदार भने अनमोलले आफूलाई ‘सुपरस्टार’ भन्नु उनको महानता मान्छन् । अनमोलले दिएको ‘सुपरस्टार’ ट्यागबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘मलाई ‘सुपरस्टार’ भन्नु उहाँको महानता हो । भुवन दाई र अनमोल भाई ‘सुपरस्टार’ हुँदाहुँदै मलाई ‘सुपरस्टार’ भनेर उहाँले महानता प्रस्तुत गर्नुभएको हो । मलाई चाहिँ ‘सुपरस्टार’ हुँ भन्ने लाग्दैन ।’

मुहूर्त समारोहमा अनमोलले केदार घिमिरेको आफू फ्यान रहेको समेत बताए । ‘केदार दाईसँग स्क्रिन सेअर गर्न म एकदमै उत्साहित छु । उहाँ जहिले पनि ‘छक्का पञ्जा’मा इन्ट्री हुँदा ताली बजाउनेमा म पनि पर्छु । म सदैव उहाँको फ्यान,’ उनी केदारको प्रशंसामा अगाडि भन्छन्, ‘उहाँ यो जवान उमेरमा पनि जसरी स्क्रिप्टमा लाग्नुहुन्छ, बिहानै उठेर फिल्मका लागि ‘प्यासिनेट’ हुनुहुन्छ, म उहाँको त्यो ऊर्जाबाट प्रभावित छु ।’

अनमोलको प्रशंसाले प्रफुलित देखिएका केदारले आफ्नो लागि हरेक फिल्म परीक्षाजस्तो लाग्ने अनुभव सुनाए । ‘मलाई हरेक फिल्म परीक्षाजस्तो लाग्छ । फिल्म रिलिज हुने बेला ‘एन्जाइटी’ होला जस्तो हुन्छ । एकदमै डर लाग्छ । यस (जेरी अन टप)मा सयमा सय मिहिनेत गर्नेछु । त्यसको फल के हुन्छ, त्यो सबै भगवान् र दर्शकको हातमा छ,’ उनले भने ।

Most Visited News (monthly)