ज्योतिषको रुपमा परिचित छन्, हरिहर अधिकारी । तर, उनले आफ्नो परिचयको दायरा फराकिलो बनाइरहेका छन् । २०७५ सालमा आएको फिल्म ‘शुभ लभ’बाट उनी हिरोको रुपमा उदाए । अब यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनको निर्माण र अभिनय दुवै छ । लेखन पनि उनकै हो । यसलाई उनको महत्त्वाकांक्षी फिल्म मानिएको छ ।
हरिहर धेरै नेपाली फिल्मकर्मीका विश्वासिला ज्योतिष हुन् । उनले कयौं नेपाली फिल्मका लागि शुभ साइत हेरिदिएका छन् । उनकै सल्लाहमा फिल्मको नाम जुराउनेदेखि प्रदर्शन मितिसम्म घोषणा गरिन्छ । अरु फिल्मका निर्मातालाई ज्योतिष शास्त्रअनुसार सल्लाह-सुझाव दिने गरेका हरिहरले आफ्नो फिल्मको ग्रह-दशा चाहिँ कस्तो देखेका होलान् भन्ने चासो धेरैमा छ ।
ज्योतिष शास्त्रको नियममा कुन दिनमा मुहूर्त गरेर छायांकन सुरु गर्दा राम्रो हुन्छ भन्ने भए पनि फिल्मको रिलिजमा त्यसको हात नरहने हरिहर बताउँछन् । सोमबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘फिल्मको ग्रह राम्रो छ । तर, मेरो काम सकिसक्यो । राम्रो दिनमा सुरु गर्यो भने गन्तव्यमा पुगिन्छ, नराम्रो दिनमा यात्रा गर्दा बाधा अड्चन आउन सक्छ भन्ने ज्योतिष शास्त्रको नियम छ । हरेक ठाउँमा लाग्ने यही नै नियम हो । हामीले फिल्म राम्रो साइतमा सुरु गरेका थियौं । र, बाधा अड्चन केही नआइ ठूलो ग्राफको फिल्म भनेकै दिनमा छायांकन सकायौं ।’
हरिहरका अनुसार फिल्मको छायांकन सेड्युल ४३ दिनको राखिएको थियो । नेपाल र भारतमा विभिन्न चरणमा छायांकन हुँदा पनि ४३ दिनमै ‘प्याकअप’ भएको उनको भनाई छ । पोस्ट प्रोडक्सनको काम पनि सरल रुपमा भएकाले ज्योतिष शास्त्रको मुहूर्त हेर्ने सिद्धान्त यही समाप्त भएको उनको तर्क छ । उनी भन्छन्, ‘फिल्म प्रदर्शनको कुरामा चाहिँ ज्योतिष शास्त्रको कुनै हात हुँदैन ।’
हरिहरले पहिलो फिल्म ‘शुभ लभ’मा ज्योतिषकै भूमिकामा अभिनय गरेका थिए । ‘ह्रस्व दीर्घ’को टिजर हेर्दा यसमा पनि उनको चरित्र धार्मिक देखिन्छ । एक दृश्यमा उनी निधारमा चन्दनको टीका लगाएर मन्दिरहरुको बीचमा श्रीमद्भगवद गीता पढिरहेका छन् । अभिनेत्री रेखा थापाको गेटअप र संवादले पनि फिल्मको कथा ज्योतिष शास्त्र र धर्मसँग केन्द्रित रहेको संकेत गर्छ ।
तर, हरिहर फिल्म ज्योतिष शास्त्र र धर्मले नभरिएको दाबी गर्छन् । ‘मेरो पेशा (ज्योतिष)ले गर्दा धेरैको वास्तविक कथा सुनेको छु । हरेक मानिसको जीवनमा फरक-फरक घटना घटेको हुन्छ । त्यो कारणले गर्दा मैले कथा लेख्दा कहीँ न कहीँ ज्योतिष शास्त्र र धर्म-संस्कृतिको कुरा आयो होला । तर, पूरै फिल्म चाहिँ योसँग सम्बन्धित छैन,’ उनले प्रष्ट पारे ।
हरिहरको करिअरका लागि पहिलो फिल्म ‘शुभ लभ’ शुभ रहन सकेन । न फिल्म चल्यो न अभिनयमा उनले प्रभाव छाड्न सके । यद्यपि, उनी ‘शुभ लभ’मा काम गर्दा धेरै कुरा सिक्न पाएकाले आफ्नो लागि शुभ नै मान्छन् । भन्छन्, ‘यसमा मैले कलाकारिता गर्ने मौका पाएको थिएँ । धेरै कुरा सिक्न पाएँ । यसैले ‘शुभ लभ’लाई शुभ नै मानेको छु । ‘ह्रस्व दीर्घ’ पहिलो फिल्म हुन्थ्यो भने मैले सच्चाउने ठाउँ पाउँदिनँ थिएँ होला । ‘शुभ लभ’मा भएको कमजोरी सच्चाएर यसमा अझ राम्रो काम गर्ने प्रयास गरेको छु ।’
‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीयदेखि नेपालका धेरै स्थापित कलाकारले काम गरेका छन् । यसमा नयाँ भनेका हरिहर हुन् । किनकि, यो उनको दोस्रो फिल्म हो । स्थापित कलाकारहरुसँग काम गर्दा सुरुमा गाह्रो भएको उनको अनुभव छ । ‘सुरुमा त निकै गाह्रो भयो । पछि चाहिँ सहज हुँदै गयो । निर्देशकदेखि कलाकारहरुले एकदमै सहयोग गर्नुभयो । साउथका ब्रह्मानन्दम, सुनिल वर्माले पनि सहज बनाइदिनुभयो । यो नयाँ हो, सिक्दै छ भन्ने हिसाबले सबैले सहयोग गरिदिँदा गाह्रो महसुस हुन पाएन,’ उनी सम्झन्छन् । ‘ह्रस्व दीर्घ’लाई उनले श्रीमती तथा अभिनेत्री नीता ढुंगाानासँग मिलेर निर्माण गरेका हुन् ।