मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेशको निष्कर्ष : ‘अब राजाको विकल्प रहेन’

फिल्मीखबर, काठमाडौं, 2024/10/29

रमेश उप्रेतीको तर्क- 'फिल्म क्षेत्र चलायमान हुन एक्सन फिल्म चल्नैपर्छ'

 

राजनीतिप्रति जनवितृष्णा चुलिँदो छ । अस्थिर राजनीतिले देशको अवस्था नै नाजुक बन्न थालेपछि दिनहुँ देश रित्तो बनिरहेको छ । रोजगारी नभएर जनशक्ति बाहिरिरहेका छन् । शिक्षा, स्वास्थ्य, बाटोघाटोको अवस्था सुध्रिन सकेको छैन । सत्ताकै लागि मात्र राजनीति सीमित हुँदा कलाकारहरु पनि चिन्तित बन्न थालेका छन् । कतिपय त अब व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्ने पक्षमा छन् ।

राजनीतिप्रति विशेष चासो राख्ने गरेका अभिनेता रमेश उप्रेतीले अब देशमा राजाको विकल्प नभएको बताएका छन् । सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘देशमा अब राजाको विकल्प कोही रहेन, एक मात्र विकल्प राजा । चेतना भया ! लेट्स फाइट फर द नेशन ।’ अब देशमा राजा नै चाहिने उनको निष्कर्ष देखिन्छ ।

उनको स्टाटसमा सयौं प्रतिक्रिया आएका छन् । कतिले उनलाई समर्थन गर्दै राजाको आवश्यकता औंल्याएका छन् भने कतिले राजा आउनु हुँदैन भनेका छन् । अमेरिका बस्ने गरेका पत्रकार शैलेश श्रेष्ठले अब दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसँग रमेशको ‘पोलिटिकल कोलिसन’ बन्ने उल्लेख गर्दै कमेन्टमा लेखेका छन्, ‘यस्तो शिक्षित मानिसले कसरी ‘राजा आऊ, फेरि हामीलाई दास बनाऊ’ भन्न सकेका होलान् ?’ उनलाई रमेशले चोट पुग्न सक्ने भएकाले रिप्लाई दिन नचाहेको जवाफ दिएका छन् ।

रमेश प्रत्यक्ष रुपमा अहिलेसम्म कुनै पनि राजनीति दलसँग खुलेका छैनन् । तर, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग निकट मानिन्छन् । अमेरिका बस्दादेखि नै उनीहरुबीच राम्रो सम्बन्ध थियो । रविलाई सहकारीको पैसा अपचलन प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनलाई भेट्न रमेश केही दिनअघि पोखरा समेत पुगेका थिए ।

रमेश फिल्ममा भने ७ वर्षदेखि देखिएका छैनन् । उनको पछिल्लो रिलिज फिल्म ‘ऐश्वर्य’ थियो, जुन २०७४ सालमा आएको थियो । यसमा उनकै लगानी थियो । गत वर्ष उनले ‘राजमहल’ र ‘कोतपर्व’ गरी दुई फिल्म सम्झौता गरेका थिए । तर, ती निर्माण नै हुन सकेनन् । अब उनी आफैं नयाँ फिल्म निर्माणको तयारीमा छन् । उनी आगामी मंसिरमा दोस्रो विवाहको तयारीमा समेत छन् ।

 

Most Visited News (monthly)