मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’लाई मल्टीप्लेक्समा सुखद् शो, तिहार विदाको फाइदा उठाउला ?

फिल्मीखबर, काठमाडौं, 2024/10/30

यसपालिको दशैंमा आएका चार फिल्ममध्ये ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले घरेलु बक्स अफिसमा सुनामी नै ल्याए । दशैं विदाभरि दुवै फिल्मले आक्रामक व्यापार गरेका थिए । अझै पनि हलहरुमा यी दुई फिल्मकै दबदबा छ । तिहार विदामा समेत व्यापारमा उछाल देखिन सक्ने प्रक्षेपण गरिएको छ ।

यसैबीच, भोलि बिहीबार लक्ष्मीपूजाबाट भने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आउँदैछ । रिलिजको हिसाबले एक्लै भए पनि फिल्मलाई चुनौती ठूलो छ । एकातिर ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को ‘थ्रेट’ छ भने अर्कोतिर शुक्रबारबाट प्रदर्शनमा आउन लागेका बलिउडका दुई ठूला सिक्वेल फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैयाँ ३’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

 

Purna Bahadur Ko Sarangi


दशैंका दुई नेपाली फिल्म र तिहारका दुई बलिउड फिल्मका कारण ‘पूर्ण बहादुरको सारङ्गी’ले मल्टीप्लेक्सहरुमा पर्याप्त शो पाउन सकेको छैन । यद्यपि, फिल्मलाई प्राप्त शो संख्या सुखद् नै छ । फिल्मले देशभर १ सय २० हाराहारी शो पाएको देखिन्छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंसहित आफ्नो दशवटा आउटलेटमा फिल्मलाई ३८ शो दिएको छ ।

त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स आईएनआईले फिल्मलाई तीनवटा आउटलेटमा ९ शो दिएको छ भने काठमाडौंका वान सिनेमाजले दुईवटा आउटलेटमा ६ शो, एफक्यूब, बिएसआर मुभिज र बिग मुभिजले समान ३/३ शो, रञ्जना सिनेप्लेक्स र सिडिसी सिनेमाजले समान ५/५ शो र कीर्तिपुर सिनेमाजले २ शो दिएका छन् । अब प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई रहनेछ ।

तिहारमा पाँच दिन लामो विदा छ । ‘वर्ड अफ माउथ’ बलियो रहेको अवस्थामा फिल्मले तिहार विदाको राम्रो फाइदा उठाउन सक्छ । दशैंमा नेपाली फिल्मप्रति देखिएको दर्शकीय आकर्षण हेर्दा तिहारमा पनि त्यो सम्भावना देखिन्छ । तर, शुक्रबार आउन लागेका बलिउडका दुई ठूला फिल्मसँगको प्रतिस्पर्धा ‘पूर्ण बहादुरको सारङ्गी’लाई सहज भने छैन ।

गन्धर्व समुदायको कथामा आधारित भएर बनेको फिल्ममा विजय बराल शीर्ष भूमिकामा छन् । उनले मुख्य भूमिकामा अभिनय गरेको यो पहिलो फिल्म हो । यसअघि उनी सहायक भूमिकामा देखिँदै आएका थिए । यसमा उनको छोराको भूमिकामा गायक समेत रहेका प्रकाश सपूतले अभिनय गरेका छन् । सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको पनि अभिनय छ ।

Most Visited News (monthly)