करिब ३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको पहिलो नेपाली फिचर फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरले फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र त्यसमा आउने उतार-चढावको कथालाई पेश गरेको छ ।
अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको डेटिङ एपबाट चिनजान भएपछि भेट हुन्छ । त्यसपछि घनिष्ट बनेका उनीहरुको सम्बन्धमा विस्तारै दरार उत्पन्न हुन थाल्छ । ट्रेलरको अन्तिममा ट्रेनभित्र नाजिरले बन्दुक तेर्साएर सृष्टिलाई अपहरण गर्न खोजेको देखिन्छ । कलाकार बुद्धि तामाङ (हैट) ‘न्यारेटर’ बनेको ट्रेलरले फिल्मको कथावस्तु रोचक रहेको दर्शाउँछ ।
फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतको पनि अभिनय छ भने अमितेष शाह विशेष भूमिका छन् । यसमा निर्देशक गौचन स्वयंको लेखन तथा निर्माण छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता तथा अमितेष शाह सहायक निर्मातामा छन् । फिल्ममा अमर महर्जनको डीओपी छ भने दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाले गीतमा संगीत भरेका छन् ।